अरिहन्त देखि पानीपिया सम्म

  • चैत २०, २०८२ / नेपाल रेखा
alt

कृष्ण अधिकारी
विषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग उल्लेख गरौं । आजभन्दा एक महिना पहिले भक्तपुरको सानोठिमी स्थित शिक्षासंग सम्बन्धित एउटा कार्यालयमा पुगेको थिएँ । मेरो काम वापत लाग्ने राजश्व तिरेर भौचर पनि बुझएको थिएँ । मेरो सरोकारका कर्मचारी थिए एकजना वरिष्ठ अधिकृत । उनी विद्यावारिधिका विद्यार्थी पनि रहेछन् । उनी काठको कुर्सीमा बसेका थिए । मैले सोधें हाकिम त मान्छे नै छोपिने ठूलो विदेशी कुर्सीमा बस्छन् त ? ती अधिकृत मुसुक्क हाँसे र सहज भावमा भने “यसमा ढाड दुख्तैन, स्वदेशी उत्पादन हो सस्तो पनि पर्छ र उता फिरेर कम्प्युटर चलाउन तल चक्का पनि छ ।”
म पुगेपछि उनले मेरै काम गर्न थाल,े अनि मातहतका कर्मचारी बोलाएर “यसको चलानी चिठ्ठी बनाईदिनु भने ।” कर्मचारी हुन ढिलो गर्लान् भन्ने लाग्यो र म ती कर्मचारीको पछि जान खोजें तर ती अधिकृतले जान दिएनन् । उनले भने “तपाईं यही बस्नुहोस ।” किन ? मैले सोधें । उनले भने “यतिखेर तपाईं हाम्रो ग्राहक हो । तपाईंले यो कामका लागि राजश्व तिर्नु भएको छ, त्यो राजश्वबाट हामी तलव खान्छौ । त्यसैले तपाईं यही बस्नुहोस, तपाईको काम हाम्रो जिम्मेवारी हो, यहीँ बस्नुहोस, तपाईंले फाँटफाँट धाउनु पर्दैन ।” सेवाग्राहीले कल्पना मात्र गर्ने गरेको कुरा मैले त्यहाँ पाएको थिएँ । उनको व्यवहारले मलाई भावुक पनि बनायो । आधा घण्टाभित्र मेरो काम पनि सकियो । उठेर हिड्दै गर्दा उनलाई मैले भनें “तपाईँहरू जस्ता कर्मचारी सबैतिर हुने भए भदौ २३ र २४ गते फेरि दोहोरिएर आउने छैन यो देशमा ।
ती अधिकृत कामपर्दा बिहान पनि भन्दैनन् र राती पनि भन्दैनन् भन्ने सुनेको थिएँ, त्यसैले आएका पो छन कि भनेर नौ बजे म उनको चेम्बरमा पुगेको थिएँ । नभन्दै बिहान आठबजे देखिनै आएर काम गरिरहेका रहेछन । उनले मलाई समय भएको छैन भनेनन्, बाहिर बस्तैगर्नु दश बजेपछि आउ नुपनि भनेनन् । दश बजेको कार्यालय समयभन्दा आधाघण्टा पहिले नै काम सकेर म बाहिर निस्किदै गर्दा कामना गरें अबको नयाँ पुस्ता सबै यस्तै कर्मशील जन्मिउन । नेपाली भाषाका ज्ञाता, संस्कृत वाङ्मयका अध्येता सहयोगी युवा कर्मचारी पुरुषोत्तम घिमिरे, उनको नाम लिन मलाई कुनै आपत्ति भएन ।
मैले यो प्रशंग यहाँ किन उठाएको हो भने जनता सेवक र शासकहरू मालिक हैनन्, जनता साना र कर्मचारी ठूला पनि हैनन् । जनता त दाता हुन । पुरुषोत्तम घिमिरेहरू जस्तै सबैले महसुस गर्ने हो भने सुशासनको प्रारम्भ त्यहीँबाट हुन्छ, सेव दिनु पर्ने निकायले जिम्मेवारी बोध गर्ने हो भने मानवीय संवेदना र सकारात्मक उर्जाको विकास हुन्छ, द्वन्दको अन्त्य हुन्छ ।
अब लागौँ अरिहन्त देखि पानी पिया सम्म । इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा हो अरिहन्त र उत्तरी सीमा हो पानी पिया । पानी पियामा इटहरीको भूगोल नसकिए पनि बस्ती सकिन्छ र त्यहाँबाट जंगल सुुरु हुन्छ । अनि पश्चिममा कान्छी चोक र पूर्वमा बुढीखोलासम्म पर्छ इटहरी । अरिहन्त देखि पानीपिया सम्म र कान्छी चोक देखि बुढीखोला सम्म यातायातको दृष्टिले अत्यन्तै सुविधा सम्पन्न क्षेत्र हो । यहाँ लोकल बस,म्याजिक, सिटी सफारी, अटोरिक्सा जतिखेर चाहियो त्यतिखेर उपलब्ध हुन्छ । अनि त्यही रुटमा इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित नगरबस पनि गुडिरहेको हुन्छ । मान्छेहरू भन्छन् अघाएको मान्छेलाई लाल मोहन खान दिएको हो नगरपालिकाले । चीनबाट खरिद गरेर ल्याएका, हेर्दै चढौँचढौँ लाग्ने राम्रा नगर वस २।४ जना यात्री बोकेर त्यही सुविधा सम्पन्न रुटमा चलेको देख्ता सुविधा दिएको हैन रमिता देखाएजस्तो लाग्छ, तर यातायातको कुनै सुविधा नभएका इटहरीका ग्रामीण रुटमा चाहिँ जनतालाई सुविधा दिनुपर्छ भन्ने ठानेन इटहरी उपमहानगरपालिकाले । त्यसैकारण सुविधा सम्पन्न रुटमा गुडेका सुविधा सम्पन्न नगरवस रमिता बनेका हुन् ।
पालिकाले जनतालाई सुविधा दिने नियतले नगरवस चलाएको थियो भने इटहरी चोकबाट विद्युत प्राधिकरण, गैसार र भुर्की हुँदै नहरपारीसम्म चलाउनु पथ्र्यो । कोशी राजमार्गबाट गैसार, भुर्की, बज्राहा, नेपाल टेलिभिजन हुँदै पचरुखी सम्म चलाउनु पथ्र्यो । शिवालयमार्ग र पूर्वी गैसार हुँदै विद्युत सवस्टेशन सम्म चलाउनु पथ्र्यो । खनारबाट एकम्बा हुँदै पकली कान्छीचोक चलाएको भए जनतालाई सुविधा पुग्थ्यो । टेलिफोन टावर, डुमरटका हुँदै सस्पेन्सनब्रीज वा गछिया र बुढी खोलाको दोभानसम्म नगरबसको सेवा जरुरी थियो । टेङ्ग्रा पूलबाट कचना स्कूल, हवाईटोल, शान्तिनगर, तरहरा र तरहराबाट भवानीपुर चलाउनु पथ्र्यो । भाटभटेनी देखि विसनपुर र अमाह चलाउनु पर्ने थियो । जूटविकास चोकदेखि तालतलैया र तरहराबाट हाँसपोसा हुँदै स्यार्सेकाली सम्म त नगरबस चल्दै थियो, तर अहिले छैन । सुनिन्छ टायर छैन रे त्यो रुटको बसमा । दानवीर मेयर भएको कारण बजेट सकिएको होला, नयाँ बजेट आएको छैन । त्यसैले पालिकासंग टायर किन्ने पैसा नभएको होला भन्छन नगरवासीहरू ।
आवस्यक भएको क्षेत्रलाई वास्ता नगर्ने तर जहाँ आवस्यकता नै छैन त्यहाँ झिल्के नगरवस गुडाउने कार्ययोजना किन बनायो नगरपालिकाले ? वा नियत र उद्देश्य के हो ? जहाँ आवस्यक छ त्यहा सेवा नदिने हो भने राज्यको करोडौं खर्च गरेर बस खरीद गर्नुपर्ने कारण चाहिँ के हो नि ? यो प्रश्न सबैको ओठमा छ यतिखेर । मेयर लगायत अधिकाँश नै युवा देखिन्छन् इटहरी पालिकामा । युवामा त पुस्तान्तरणको गर्व हुनुपर्ने, रुपान्तरणको जाँगर हुनुपर्ने । ठीक र बेठीक छुट्याउने सामथ्र्य हुनुपर्ने, र पुराना पुस्ताले गर्न नसकेका काम गरेर देखाउँछौ भन्ने हौसलाहुनुपर्ने । चुनावको वेलाभोट हाल्दा नगरवासीको अपेक्षापनि त्यहीथियो होला, तर कहाँनेर चुक भयो मतदानगर्दा र अहिले पश्चातापको लामो सास फेर्दैछन इटहरीका मतदाता?
यो त एउटा विषय मात्र हो, उठान गर्नुपर्ने धेरै विषय थाती राख्तै अहिले यति मात्र भनिरा खौँ, नगरपालिका मालिक हैन जनताको । जनता त दाता हुन् । उनीहरूले मत पनि दिएका छन् र राजश्व पनि दिएका छन् । नगरपालिकाले उनीहरूको काम इज्जतका साथ सहज ढंगले गरिदिनु पर्ने हो तर त्यो संतुष्टि पनि दिन सकेको छैन इटहरी पालिकाले । मेयरले जनताका प्रश्नको उत्तर दिन पनि आवस्यक ठानेको देखिदैन । मेयर र पदाधिकारीलाई प्राप्त अधिकार नै कमजोरी हो कि प्राप्त अधिकारलाई सदुपयोग गर्न नसकेको अवस्था हो यो ? इटहरी सरकारले जवाफ नदिए पनि समयले जवाफ दिनुपर्ने छ ।

कुम्भकर्ण र कञ्चनजङ् ...

तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत स ...

आलोचनात्मक प्रतिपक्ष ...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ...

सुनचाँदीको मूल्य केह ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटे ...

छैठौं अन्तर्राष्ट्रि ...

इटहरी । सुनसरीको इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौ ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]