अनुदानले अल्छे बनाउला नि ... "जनक पाण्डे"

  • असार ७, २०७७ / "नेपाल रेखा"
alt

“अनुदान भन्दा अगाडी उहाँको सफलताका लागि दृढ संकल्प सहितको ईच्छाशक्ति, ईमान्दारिता, आत्मविश्वास, अटुट परिश्रमले काम गर्दछ । यो कसैलाई पत्तो छैन । अनि पारिवारिक समर्थनलाई उहाँ कहिल्यै बिर्सनुुहुुन्न । अनुदानमा मात्र खासै विश्वास नराख्ने नवराजलाई ‘अनुदानले अल्छे बनाउछ भन्ने लाग्छ ।”

इटहरी उपमहानगरको एका छेउमा कृषिलाई ब्यावसायीकरण गर्दै जिवनलाई उत्साहि बनाउने मेहनति पशुपालक किसानसँग फोन सम्वादमै परिचय भयो । उहाँले आफ्नो कृषि कार्यको बारेमा सम्वादमै मलाई पनि उत्साह भर्नु भयो । म अकर्मण्यताका साथ उहाँको गोठ र खोर भएकै ठाँउमा पुग्न लालायीत भएँ । उहाँले मलाई फोन सम्वादमै पशुपालन स्थलको संकेत गर्नु भयो ।

 

मोवाइलमा “एउटा कलवर्ट अगाडी आउने अर्को कलवर्ट संगै रहेको पूर्व लाग्ने बाटोबाट आउनुहोस, म पर्खिरहेको छु” । म त्यसरी नै अगाडी बढें । चकलेटी अनुहारका अन्दाजी २८÷३० बर्षका एक यूवाले–‘तँपाईनै हो’ भन्नुभयो । म रोकिएँ; मास्कले ढाकिएको अनुहारमा निधारबाटै मुस्कानको बिम्ब छरिएको प्रष्ट हुन्थ्यो । हामीले एक अर्कामा भावनात्मक सम्वाद आँखैबाट प्रतिबिम्बित गर्यौ । अनि एकै छिनमा ‘दामोदर बाख्रा फार्म’ भित्र हामी दुबैजना प्रवेश ग¥यौ ।


फार्म परिसर भित्र रहेको एउटा चाफकटर (घाँस काट्ने मेशीन) तर्फ उहाँले मलाई लिएर जानुभयो । मेशीन गज्जबको थियो मल्टिनेशनल ब्राण्डको । यो अनुदानको हो ?, मैले सोधिहाले । उहाँले अर्ध मुस्कानमै भन्नु भो । हैन, मूल्य दानको । उहाँको आशय थियो आफैले खरिद गरेको । कति पर्यो होला ? उहाँले भन्नु भो ८० हजार । म रन्थनिएँ मूल्य सुनेर । दाना, चारो, मसला समेत पिस्न र घाँस कटिङ्ग गर्न मिल्ने उक्त मेशिन अनुदानमा नपाईने उहाँले बताउनुभयो । मैले फेरि सोधेँ ! मूल्यदान कि अनुदान ? उहाँले थप्नुभो, “साझेदारी अनुदान” ।


फार्म परिसर भित्रै देखिएको अर्को आकर्षक दृश्यले अघिदेखि मेरो मन खिचिरहेको थियो । म त्यसतर्फ गएँ । गजबका घुमेका सिंङ्ग र पुष्ट शरीर भएको एउटा जखमले बोको बाख्रालाई गर्भादान गराई रहेको थियो । मैले एकछिन त्यो बोकालाई हेरें; बोकाले त्यति जाँगर देखाएन । शरीर जिउडाल बनौटको तुलनामा त्यो बोका त्यति फूर्तिफार्ति काम गर्न नसकेको देखेँ । अनुदानमा पाएको त्यो बोका उहाँले नगरपालिकाबाट तोकि दिएको दररेटमा छरछिमेकमा पनि बाख्राहरु गर्भादान गराउन दिने गरेको रहेछ । ओहो ! ‘कति मनकारी परोपकारी !’ अब त मलाई उहाँको साझेदारी अनुदान प्रतिको मोह र भावनालाई बुझ्न त्यति गाह्रो भएन ।


देश खाई शेष भएका इटहरी–१८ का नवराज नेपाल २०७१ सालमा ८ वर्ष लामो बिदेश बसाइ पछि घर फर्किए लगत्तै कृषि पेशामा जम्न थाल्नुु भएको हो । स्थानीय सुनसरीको झुम्का स्थित मुनलाइट बोर्डिङ्ग स्कूलबाट २०६१ सालमा एस.एल.सी र २०६२ सालमा इटहरी स्थित सुस्मा कलेज बाट प्लस टु अध्ययन पश्चात रोजगारका लागि साउदी अरेबीया जान काठमाण्डौ हानिएका नवराज रोजगारीका लागि अफगानिस्तान पुुग्नुुभएको थियो ।


बिद्यार्थी कालदेखि नै आफुलाई मध्यम कोटिको बिद्यार्थी ठान्ने नवराजको सफलताका लागि ‘नयाँराज’ को श्रेय चाँहि उहाँको बुबा र घर परिवारका सबै सदस्यहरुलाई नै गएको छ । सानै देखि पढाईमा आफू त्यति अब्बल नभए पनि घरमा कृषिमय वाताबरण भएकै कारण कहिल्यै बराला हुन नपरेको भन्दै बरु खाली समयमा खेतबारी र गोठमा रमाउदै काम गर्दा कृषिलाई नजिकैबाट बुझ्ने मौका मिलेको र यहिँबाटै उहाँको कृषि तर्फको मोह र लगाव प्रारम्भ भएको नवराज बताउनुुहुुन्छ ।

image

अहिले नवराजको सुदृढ जिवन शैलीसँगै कार चढेर हिडेको देख्दा साथीभाइहरुले उहाँलाई कति अनुदान पाइयो ? भनेर सोध्ने गर्छन् । तर ‘अनुदान’ भन्दा अगाडी उहाँको सफलताका लागि दृढ संकल्प सहितको ईच्छाशक्ति, ईमान्दारिता, आत्म विश्वास, अटुट परिश्रमले काम गर्दछ । यो कसैलाई पत्तो छैन । अनि पारिवारिक समर्थनलाई उहाँ कहिल्यै बिर्सनुुहुुन्न । अनुदानमा मात्र खासै विश्वास नराख्ने नवराजलाई ‘अनुदानले अल्छे बनाउछ’ भन्ने लाग्छ । यद्यपी नवराजले इटहरी उप महानगरपालिकाले अनुदानमा दिएको ७५ प्रतिशत नश्लको एउटा बोयर बोका पाउनु भएको छ । नवराज भन्नुहुन्छ–‘साझेदारी लगानीमा दुवैपक्ष अनुदानकर्ता र कृषक दुवैको निगरानी र संरक्षकत्वले त्यो लगानिमा जोखिम न्यूनीकरण हुने हुदा साझेदारी अनुदान प्रणाली उत्कृष्ठ मानिन्छ ।’ पालिकाको ५० हजार अनुदान र बाँकी कृषकले लगानी गर्ने यस्तो साझेदारी नमूना अनुदानमा इटहरीका बाख्रापालक कृषकहरुलाई ७५ प्रतिशत नश्लका २० वटा बोयरजातका बोकाहरु बितरण गरिएको इटहरी पालिकाका पशुसेवा प्राविधिक ठाकुर खत्रीले बताउनु भएकोछ ।


अनौपचारिक रुपमा २०७२ सालबाटै पोल्ट्री ब्यवसाय सुरु गरेका नवराजले आफुसंगै भएका केहि बाख्राहरु पाल्दै गर्दा बाख्राको संख्या बृद्धि हुन थालेपछि अहिले इटहरी–१८ मा ‘दामोदर बाख्रा फार्म’ सञ्चालन गर्दै आउनु भएको छ । उहाँको फार्ममा बोयर, खरी, जमुनापार बोका लगायत अहिले पनि सानाठूला सबै गरेर झण्डै ५० बटा बाख्राहरु रहेका छन् ।

 

कृषि ब्यवसायी उद्यमीले ऋण नपाएको गुनासो

रोजगार मूलक कृषि ब्यावसायको बृत्ति–बिकाश र प्रवद्र्धनका लागि सरकारी सहुलियत र सहजिकरण अति आवश्यक रहेको मानिएको छ । वास्तबिक किसानलाई सहुलियत ऋण र अनुदानले ब्यवसायीकतालाई कोशेढुंगा साबित हुने भएपनि ब्यावहारिक रुपमा झन्झटिलो, बोझिलो प्रशासनिक प्रणाली र प्रभावकारी सरकारी नीतिका अभावका कारण कृषकले चाहेर पनि बैंकबाट सहुलियत ऋण र अनुदान पाउन नसकेको प्रत्यक्ष प्रमाण नवराज जस्ता कृषक हुन् । तर समाजभित्र एउटा उत्साही कृषि ब्यवसायीले अनुदान नपाउँदा त्यसको प्रभाव के पर्न सक्छ ? त्यसका अर्का ब्यवसायी उद्यमी दिपक रायामाझी उदाहरण बनेका छन् ।

 

२०७३ सालमा बिदेशबाट फर्किएर रायामाझीले कृषिमा करिव ३० लाख रुपैंया भन्दा बढी लगानी गर्नुुभयो । १५ लाख भन्दा बढी खर्चेर गाई, बाख्रा र कुखुराका लागि गोठ र खोर बनाउनुु भो । गाईमा झन्डै ५ लाख लगानी पनि गर्नुुभो । बाख्रामा ३ लाख जति लगानी गर्नुभो । अनि कुखुरा र तरकारी खेतिमा करिव ७ लाख लगानी पु¥याउनुुभो । अहिले उहाँसंग ५ बटा जर्सी गाई, ३० बटा बाख्रा छन् । रायमाझीले प्रत्येक गाईले दैनिक ७ लिटरका दरले दुध दिईरहेको बताउनु हुन्छ । त्यो बाहेक उहाँसंग भोजपुर शडानन्द नगरपालिकामा ५६ रोपनी जग्गा अर्थात झन्डै ३ बिगाहा जग्गामा किवी (फल) र पाउलोनिया (एक प्रकारको काठ) को खेति गरिरहनुुभको छ ।

 

इटहरी–१९ तरहरा स्थित अदिप्त ओर्गनिक कृषि फार्म प्रा.लि. का सञ्चालक दीपक रायामाझीको फार्ममा अहिले गाईहरु फेर्नुपर्ने भएको छ । गाईहरु बुढा भएको र गर्भाधानमा उल्टिरहने समस्या भएपछि औषधि उपचारमा बढी खर्च हुन थालेकोले आम्दानी भन्दा खर्च बृद्धि भएको उहाँ बताउनुुहुुन्छ । अहिले उहाँसंग फार्म ब्यवस्थापनका लागि पैसा छैन । पटक–पटक विभिन्न बैकहरुसंग ऋणका लागि अनुरोध गर्दा पनि बिभिन्न का  गजी बहानामा फर्काइएको उहाँको गुनासो छ । उहाँ भन्नु हुन्छ–‘कृषिबिकास बैंक, सानिमा बिकास बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई सवै कागजात र तालिमका प्रमाणपत्रहरु बुझाउँदा पनि मैले कतैबाट ऋण पाउन सकिन ।’ ‘किवी फार्मका’ लागि ऋण माग्न जाँदा राष्ट्रिय बाणिज्य बैंकले ५ प्रतिशत ऋण अनुदान पारित भएको मात्रै हो, सूचना आएको र आफुहरुले अहिलेसम्म ऋण दिने प्रकृया नभएको भन्दै सोझै फर्काइएको रायामाझीको आरोप छ । रोचक त ! ‘घाटामा गएको, सानो पूजीँ भएको कम्पनीलाई के आधारमा ऋण दिने ?’–राष्ट्रिय बाणिज्य बैंकले ‘आफ्ना तालिमका कागज र प्रमाणपत्र समेत उतै तालिम केन्द्रहरुलाई दिन र ऋण पनि उतै तालिम केन्द्रले उपलब्ध गराउने’ जस्ता गैर जिम्मेवारपूर्ण जवाफ दिएको रायामाझी बताउनुुहुुन्छ ।


राष्ट्रिय बाणिज्य बैंक इटहरी शाखा प्रबन्धक सन्तोसकुमार लम्साल भने ऋण लिन आउनुहुने सतप्रतिशत वास्तबिक कृषकहरुलाई आफ्नो साखाबाट सहुलियत ऋण प्रवाह गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘इटहरी क्षेत्रभित्र मात्र ५० भन्दा बढी कृषिफार्महरुलाई हामीले सहुलियत ऋण उपलब्ध गराएका छौं ।’ कृषि र महिला उद्यमशीलतामा सहुलियतको ऋण उपलब्ध गराउने राष्ट्रिय बाणिज्य बैंकको नीति भने गत साल साउन महिनादेखी मात्र सुरु भएको पनि प्रवन्धक लम्सालले बताउनुभएको छ । तर दीपक रायामाझीलाई भने प्रवन्धक लम्सालको कुरामा विश्वास लागेको छैन । पैसाको लागि फेरी पनि बिदेसीनु पर्ने हो कि भन्ने कुराले रायामाझीको दिमागमा घर गर्न थालेको छ ।

 

कृषि बिकाश र प्रवद्र्धनमा इटहरी पालिकाको योजना र कार्यक्रम

इटहरी उपमहानगरको आव २०७६÷७७ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार लगभग ३४ हजार घरधुरी र १ लाख ४० हजार भन्दा बढि जनसंख्या रहेको झण्डै ९४ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको इटहरी नगर कार्यपालिकाले पनि आफ्नो क्षेत्रभित्र कृषि बिकाश र प्रवद्र्धनको लागि बिभिन्न योजना कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ ।


इटहरीको ४, ५, ८ र ९ वाहेकका सवै वडामा ७५ प्रतिशत भन्दा माथि कृषकहरु रहेको पालिकाको कृषि तथा पशुपंछी शाखाका प्राबिधिकहरुको भनाई छ । शाखाका पशु प्राविधिक ठाकुर खत्री भन्नुहुन्छ–‘अभैm त वडामा कृषि बिकासलाई शसक्त र प्रभावकारी बनाउन पालिकाले कृषि पकेट क्षेत्र नै निर्धारण गरि गाई, भैंसी, बाख्रा, सुंगुर र माछा पालनका लागि स्थान छनौट गरेर ब्यवशायलाई प्रोत्साहन गरिएको छ ।’ गाईपालनका लागि १,२ र २० नं. वडा, भैंसीका लागि ७, १६ र १७ नं. वडा, बाख्राका लागि १३, १४ र १८ नं. बडा त्यस्तै सुंगुरका लागि ३ ४ ५ ७ १० १९ नं. वडालाई प्राथमिकता दिएर कार्यक्रम प्रवद्र्धन गरिएको अर्का पशु स्वास्थ्य प्राविधिक लालबहादुर तामाङ्ग बताउनुहुन्छ ।


इटहरीमा ब्यावसायिक रुपले साना ठुला कृषि फार्म, समूह र सहकारी सबै गरेर १ सय ५० भन्दा बढी संख्यामा दर्ता भएका छन् । बंगुर पालनतर्फ १७ बटा फार्म, बाख्रा पालन तर्फ ११ वटा, गाई पालन २३ बटा गरि उत्पादन तर्फ र कृषि उपज बजारीकरण तर्फ १२ वटा तथा मिश्रित तर्फ २९ वटा ब्यावसायिक कृषि संस्थाहरु संस्थागत छन् भने १३ वटा कृषि सहकारी संस्था दर्ता रहि कार्यरत रहेको कृषि तथा पशुपन्छि शाखाको तथ्याँङ्कले देखाउँछ ।


साझेदारी अनुदान अन्तर्गत सवै ब्यासायको बिकास र प्रवद्र्धनका लागि पालिकाको कृषि र पशुपंछी शाखाले मात्र चालु आर्थिक वर्षमा २ करोड नगर कार्यपालिकाको र संघिय सरकारको १० लाखमा जम्मा २ करोड ८ लाख खर्च गरिसकेको कृषि शाखाकी प्राबिधिक बिमला राईले बताउनु भएको छ । कृषि शाखा मार्फत नै यस क्षेत्रका किसानलाई १३ लाख ३८ हजार ९ सय बराबरको धनको विउ वितरण गरिएको छ । यसमा किसानको १५ प्रतिशत लगानी रहेको छ भने बाँकी अनुदान उपमहानगरले उपलब्ध गराएको छ । त्यसैगरी, सिचाइको लागि १० लाख बराबरको १५ वटा बोरिङ मेसिन वितरण गरिएको छ । यस अनुदानले समूह कृषक र व्यक्तिगत कृषकले समेत राहत पाएका छन् । यो सँगै पैनी मर्मतमा पनि इटहरी उपमहानगरले ५ लाख खर्च गरेको जनाएको छ । विमला राई भन्नुहुन्छ–‘यसमा माटो शिविर साथै कृषि चुना कार्यक्रम हुन नसक्दा उपमहानगरलाई संघिय सरकारबाट आएको २ लाख फिर्ता जाने सम्भावना छ ।’ उपमहानगरका विभिन्न वडामा ३० वटा भकारो सुधार कार्यक्रममा ३ लाख रुप्रैया खर्च गरिएको पनि राईले बताउनु भएकोछ ।

 

अनुदानको सामाजिक प्रभाव नकारात्मक नै बढि

अनुदानको सामाजिक प्रभावलाई हेर्दा यसको असर पनि सकारात्मक भन्दा नकारात्मक नै बढि देखिन थालेको छ । पशुपंछी बिकास शाखाका शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठ– सिधासाधा, वास्तविक कृषक अनुदान लिन नआउने अथवा प्रकृया पु¥याएर आउन नसक्ने हुनाले यो अनुदानको आवश्यकता र औचित्यको पहिचान गरिनु पर्ने आवश्यकता रहेको बताउनु हुन्छ । आज अनुदानमा भएको दुरुपयोगले अनुदानकै औचित्यमाथि प्रश्न चिन्ह लागेको उहाँको ठहर छ । ‘एउटा दुध बोक्ने गाडी अनुदान पाएपछि अहिले काठ बोक्ने गाडीमा परिणत भएको छ ।’ अनुदानको चरम दुरुपयोग देखिन थालेपछि इटहरीका पशुपन्छी प्राबिधिक लालबहादुर तामाङ्ग प्रतिप्रश्न गर्नु हुन्छ ‘ब्यावशायका लागि अनुदान कि, अनुदानका लागि ब्यावसाय ?’ उहाँको भनाइ अनुसार ब्यावसाय र अनुदान बिचको मर्म र भावनालाई बुझ्न र बुझाउन नसकेकैकारण आज कृषकहरुका असन्तुष्टि र गुनासा बढेको कुरालाई स्वाभाविक मान्नु पर्दछ ।


कृषक तथा तिरुपति गाई पालन फार्मका संचालक, कानून व्यवसायी अधिवक्ता सुमनचन्द्र कार्कीको भनाइ अनुुसार– हाल मुलुकमा कृषिलाई रोजगारमुलक र व्यावसायीकरण गर्नेतर्फ सरकारले किसानहरुलाई प्रदान गर्ने सहुलियत कृषि ऋण र अनुदान सहयोगले किसानको व्यवासायिकतालाई सवल बनाउन टेवा दिने गर्दछ । तर, वास्तविक किसानले अनुदान सहयोग र ऋण सहयोग प्राप्त गरेका छैनन् । अनुदान दिंदा स्थानीय सरकारहरुले नगदै दिने प्रचलनलाई अन्त्य गर्नु पर्छ । किसानको उद्यमशिलता हेरेर त्यस्तो अनुदान सहयोगहरु व्यावसाय सुरु गर्दाको अवस्थामा, व्यवसाय सुचारु भइरहेको अवस्थामा, व्यावसाय रुग्ण भएको अवस्थामा फरक फरक मूल्यांकन प्रतिवेदनको आधारमा प्रदान गर्नु पर्दछ । अन्यथा अनुदान सहयोग नितान्त दुरुपयोग हुन्छ ।

सुझावहरुः   

कृषि कार्यका लागि दिइने सरकारी सेवासुबिधा, अनुदान, ऋण सहयोग सुक्ष्म प्रतिवेदनका आधारमा समान वितरणको सिद्धान्तबाट पैदायस गर्नु पर्दछ । अन्यथा लक्षित वर्गमा सरकारी योजना र नीतिको उपेक्षा हुने देखिन्छ । कर्मशील उद्यमी कृषकहरुमा उत्साह भर्ने कर्म नै समान वितरणको अवसरबाट हो । उद्यमशिलता जिवन पर्यन्त लामो लक्ष्य राखी गर्ने कृषकलाई स्थानीय सरकारहरुले दिर्घकालीन योजनाहरु बनाउन जरुरत छ । जसले गर्दा स्थिर उत्पादन र श्रमकावीचको सम्बन्धले गुणस्तरयुक्त वस्तु उत्पादन र मूल्यमा स्वभाविक सन्तुलन ल्याउन सक्छ भने सरकारको योजना तथा नीति पनि परिणाममुखी हुनेछ । जसले नागरिक जिवनमा स्थायी व्यावसायीकरणको आचारणलाई अभिवृद्धि गर्ने भई पुस्तानुकरण हुदै गएको वेरोजगारी समस्यालाई पनि समाधान गर्ने एउटा विकल्प हुन सक्छ । जसले राष्ट्रिय आय अभिबृद्धि गर्ने कुरामा स्थिरता प्रदान गर्न सक्छ ।


व्यवहारमा हाल देखिएका समस्याहरुलाई न्यूनिकरण गर्न सूचना प्रवाहले मह्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जस्तो, ऋण अनुदान प्राप्त गर्न कृषकले भोग्नु पर्ने कागजी झमेलालाई कम गर्दै उत्साही किसानहरुको मनोवल उच्च बनाइ राख्न नीति निर्माता, लक्षित वर्ग र कार्यान्वयन पक्षका बिचमा अन्योन्यास्रित सम्बन्ध कायम गर्न आवश्यक छ । अनुदान दिंदा दोहोरो अनुदानको समस्या पनि व्यवहारिक समस्याकै रुपमा देखिएको हुदा अनुदानको समान वितरणको अवसरलाई निश्चितता दिन अनुदान प्राप्तकर्ताहरुको सूचि तयार गर्न जरुरत छ । बास्तबिक कृषिकलाई नै अनुदान दिने सरकारी नीति हो भने उद्यमशिलता खुलेको कृषि परिचय पत्रको व्यवस्था गर्न जरुरत छ । यस्तो परिचयपत्रले नियमित र मौसमी कृषकहरुको भेद छुट्याउन सहज हुने भएकोले कृषि तालिमको विविधीकरण, पहिचान, वर्गीकरण र अन्य प्राविधिक ज्ञानका लागि सहजै सहयोग गर्न सकिनेछ । कृषकको उद्यमशिलता र उत्पादनको बीचको सूचना पनि दुरुस्त गर्न सके यसले कृषिमा लगानी र अवसरको तुलनात्मक अध्ययन गर्न सहज बनाउने थियो ।

राष्ट्रिय खोप तालिका ...

काठमाडौँ । राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद् ...

जलवायु परिवर्तनको कह ...

सुवास दर्नालसोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हाम ...

पर्यटन राजधानीमा २६औ ...

गण्डकी । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको ...

भूमिहीनलाई जग्गाको प ...

चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]