विराटनगर । प्रदेश नम्बर एक का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आउदो आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उहाँले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको स्मरण गर्दै अब आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिनुभयो थियो ।
उहाँले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको बताउनु भयो । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा बजेट खर्च गरिने बताउनुभयो । मन्त्री घिमिरेका अनुसार यसअघिका ५१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरे पनि अब त्यसो हुँदैन । आगामी वैशाख २५ गतेसम्मको बन्दाबन्दीपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने जानकारी पनि दिनुभयो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसइई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो । उहाँले प्रदेशका विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भइरहेको बताउनभयो ।