इटहरी । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले भोटेकोशी बाढीमा बेपत्ता भएका दुई व्यक्तिका परिवारसँग भेटघाट गरेकी छन् ।
राज्यमन्त्री परियारले शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका–८ गल्फाडियास्थित आशिष उराँवको घरमा पुगेर परिवारसँग भेट गरेकी हुन् । यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी उराँव बेपत्ता भएका छन् ।
भेटका क्रममा राज्यमन्त्री परियारले परिवारको अवस्था बुझ्दै दुःखमा साथ रहने प्रतिबद्धता जनाइन् । उनले बेपत्ता उराँवको खोजी तथा उद्धारका लागि प्रदेश सरकारले गरिरहेको समन्वयबारे पनि जानकारी दिइन् ।
त्यसैगरी, राज्यमन्त्री परियारले इटहरी उपमहानगरपालिका–१९ स्थित नेपाली सेनाका लेस नायक प्रभाकर दङ्गालको घरमा पुगेर परिवारसँग भेटघाट गरेकी छन् । रसुवाको मैलुङस्थित सैनिक पोस्टमा कार्यरत रहेका दङ्गाल पनि भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका हुन् ।
परियारले दङ्गालका परिवारको अवस्था बुझ्दै पीडामा साथ दिने बताइन् । उनले बेपत्ताको खोजी तथा उद्धारका लागि कोशी प्रदेश सरकारले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको जानकारी दिइन् ।
भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारजन लामो समयदेखि प्रतीक्षामा छन् । प्रदेश सरकारले खोजी तथा उद्धार समन्वय कार्यलाई प्रभावकारी बनाउन स्थानीयवासीले राज्यमन्त्री परियारलाई सुझाव दिएका छन् ।