जनसरोकारका विषय सुन्न समुदायमा पुग्दै राज्यमन्त्री सपना परियार

  • भदौ १९, २०८३ / नेपाल रेखा
alt

इटहरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेको १९ दिनमै सपना परियार मन्त्रालयको कार्यकक्षमा सीमित रहिनन् । पदभार ग्रहण गरेसँगै उनी सुनसरीका गाउँबस्ती, विद्यालय, दलित तथा उत्पीडित समुदाय, खेलकुद र कला क्षेत्रदेखि जनयुद्धका घाइते, सहिद तथा बेपत्ता परिवारको घरदैलोसम्म पुग्न थालेकी छन् ।
भदौ १ गते पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मेरो यात्रा पदबाट होइन, समुदायबाट सुरु हुन्छ ।’ उनको यो भनाइ औपचारिक अभिव्यक्तिमा मात्र सीमित रहेन । शपथको भोलिपल्टै उनी इटहरी–१७ बालग्राम टोलस्थित मुसहर बस्ती पुगेर स्थानीयका समस्या सुन्नुका साथै जीर्ण सडक तथा बाटोघाटोको स्थलगत अवलोकन गरिन् ।
राज्यमन्त्री परियारले त्यसयता सुनसरीमा विकास निर्माण र जनसरोकारका विषयमा स्थानीयसँग निरन्तर संवाद अघि बढाएकी छन् । इटहरी–१२ खनारमा जनप्रतिनिधिसँग त्यस क्षेत्रको विकास निर्माणबारे छलफल गरेकी उनले दुहबीको सिमल टोल विकास संस्थाका बासिन्दासँग पनि स्थानीय विकासका विषयमा अन्तरक्रिया गरिन् ।

यसैक्रममा इटहरी–७ का वडा सदस्य दीपक घिमिरेको निवासमा पुगेर उनले स्थानीयवासीका गुनासा, आवश्यकता र सुझाव सुनेकी छन्। स्थानीयस्तरमा देखिएका पूर्वाधारसम्बन्धी समस्यालाई प्रत्यक्ष बुझ्ने उद्देश्यले उनले विभिन्न स्थानमा स्थलगत भ्रमणलाई प्राथमिकता दिएकी छन् ।

विद्यार्थी र विद्यालयका समस्या बुझ्दै

राज्यमन्त्री परियार आफ्नो बाल्यकालको सम्झना ताजा गर्दै बराहक्षेत्रस्थित आफूले अध्ययन गरेको जगन्नाथ–डेढराज विद्यालय पनि पुगिन् । विद्यालयमा उनले विद्यार्थी, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गर्दै शैक्षिक अवस्था र उनीहरूका आवश्यकताबारे जानकारी लिइन् ।
ग्रामीण क्षेत्रको सडक तथा भौतिक पूर्वाधारको अवस्था बुझ्ने क्रममा उनी सुनसरीको मधुवनसमेत पुगिन् । बराहक्षेत्र–११ स्थित धनजित आधारभूत विद्यालयमा विद्यार्थीहरू आवतजावत गर्ने सडकको अवस्थाबारे उनले स्थलगत निरीक्षण गरिन् । ग्रामीण क्षेत्रका विद्यालयसम्म पुग्ने सडकको अवस्थाले विद्यार्थीको नियमित पठनपाठनमा पार्ने प्रभावबारे समेत उनले जानकारी लिएकी छन् ।

पूर्वाधारसँगै कला र खेलकुदमा पनि चासो


विकास निर्माणसँगै राज्यमन्त्री परियारले कला, संस्कृति र खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेकी छन् ।

इटहरीस्थित ‘संगीत साधना प्रतिष्ठान नेपाल’ पुगेर उनले संगीत सिकिरहेका बालिकासँग समय बिताइन् । प्रतिष्ठानका सञ्चालक प्रदीप रेग्मी र राजु केसीसँग उनले कला क्षेत्रको विकास र स्थानीय प्रतिभाको प्रवद्र्धनका विषयमा छलफल गरिन् ।
त्यस्तै, इटहरीको बुढीगंगा तेक्वान्दो डोजाङबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी भइन् ।

सहिद, बेपत्ता र घाइते परिवारसँग आत्मीयता

जनयुद्धको पृष्ठभूमिबाट आएकी राज्यमन्त्री परियारले सहिद, बेपत्ता तथा घाइते परिवारसँगको सम्बन्धलाई पनि प्राथमिकतामा राखेकी छन् ।
१६ औँ अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका पीडित नागरिक दिवसका अवसरमा इटहरी र विराटनगरमा आयोजित कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी भइन् ।
त्यसैगरी, बराहक्षेत्र–२ पुगेर उनले जनयुद्धका घाइते योद्धा ‘जमर्को’लाई भेटिन् । इटहरी–५ का जनयुद्धका सहिद दिनेश खड्काका मातापितालाई भेटेर आशीर्वाद तथा बधाई ग्रहण गरिन् । बेपत्ता योद्धा कमरेड ‘रसिक’का आमाबुवासँग पनि भेटघाट गरी पारिवारिक आत्मीयता साटिन् ।
नेपाली कम्युनिष्ट पार्टी इटहरी उपमहानगर समितिको एकता बैठक तथा शपथ ग्रहण कार्यक्रममा उनले विशेष सम्मानसमेत ग्रहण गरिन् ।
राज्यमन्त्री परियारको पछिल्लो सक्रियताले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ । उनको फेसबुक पेजमा आएका प्रतिक्रियाहरूमा पदमा बसेर निर्देशन दिनुभन्दा समुदायमै पुगेर समस्या बुझ्ने शैलीको प्रशंसा गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि जनताको घरदैलोमै पुगेर समस्या पहिचान गर्ने उनको प्रयासले स्थानीय तहमा देखिएका पूर्वाधारका समस्या प्रदेश सरकारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । अब भने स्थलगत रूपमा पहिचान गरिएका समस्या समाधानका लागि बजेट, योजना र कार्यान्वयनमा उनको सक्रियता कत्तिको देखिन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]