व्राईट भिजन ल कलेजको विराटनगरमा नमूना अदालत प्रतियोगिता

  • भदौ ७, २०८३ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले ब्राईट भिजन ल कलेज विराटनगरले ‘मुटकोर्ट’ (नमूना अदालत) प्रतियोगिता गरेको छ । गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोश्रो संस्करण सम्पन्न भएको छ ।
शनिबार सम्पन्न फाईनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्वन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए । निर्णायकमा उच्च अदालत विराटनगरका न्यायाधीशहरु महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली हुनुहुन्थ्यो ।
फाईनल प्रतियोगितामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री गीता तिम्सिना उच्च अदालत, जिल्ला अदालतका न्यायाधिश, सरकारी वकिलहरु, वरिष्ठ अधिवक्ताहरु लगायतको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीले राम्रो प्रस्तुती गरेको बताउनुभयो । साथै उहाँले मुटकोर्ट प्रतियोगिता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले अदालती अभ्यास प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताउनुभयो । कानुनका विद्यार्थी हरेक क्षेत्रमा प्रतिष्पर्धी हुने उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्री गीता तिम्सिनाले ब्राईट भिजन कलेजले कानुनका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कानुनका विद्यार्थीको क्षमता विकासमा प्रदेश सरकारले सरकारी र निजी कलेजका उत्पादन भनेर विभेद नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ब्राईट भिजन कलेजका प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले मुटकोर्टले अदालतको अनुशासन कायम गर्न मद्दत गर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीमा सिर्जनात्मक सोच र विश्लेषणात्मक सोचको विकास गर्ने बताउनुभयो । कानुन पढ्ने विद्यार्थी ब्राइट भिजनको मात्र नभएर राज्यको जनशक्ति भएको उहाँको भनाई छ । उहाँले प्रदेश सरकारले कोशी प्रदेशका १३७ वटै स्थानीय तहहरुमा प्रदेश कानुनका बारे सञ्चार गर्न कानुनका विद्यार्थीलाई प्रयोग गर्न सुझाव दिनुभयो । प्रमुख आचार्यले प्रदेश मन्त्रालय, तथा निकायहरुमा इन्टर्नसीपको प्रवन्ध गर्न आग्रह गर्नुभयो ।
प्रतियोगिताको उपाधि बीभीएलसी ८१७ समूहले जितेको छ । सो समूहका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्निमा गौतम प्रथम भएका छन् । उपाधि जित्ने समूहले नगद १२ हजार सहित ट्रफी प्राप्त गरेको छ ।
बीभीएलसी ८०८ का उन्नती पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतको समूह दोश्रो भएको छ । दोश्रो हुने समूहले नगद ७ हजार र ट्रफी जितेको छ ।
प्रतियोगितामा आमोद वस्ती, सञ्जय घिमिरे, कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेश्रो भएको छ । तेश्रो हुने समूहले नगद ४ हजार र ट्रफी जितेको छ । प्रतियोगितामा उत्कृष्ट बहसकर्ता प्रतिष्ठा पोखरेल हुनु भएको छ । उहाँलाई नगद ४ हजार र ट्रफी प्रदान गरिएको छ ।
दोश्रो संस्करणको मुटकोर्ट प्रतियोगितामा २५ समूहमा एक सय विद्यार्थी सहभागी भएको विद्यार्थी नारायण चौलागाइँले जानकारी दिनुभयो । कलेजले गतवर्षदेखि मुटकोर्ट प्रतियोगिता शुरु भएको गरेको हो । मुटकोर्टमा विद्यार्थीको आकर्षण बढेको विद्यार्थी मनिष सिग्देलले बताउनुभयो ।
प्रतियोगितामा वीएएलएलवीको पाँचवटै सेमेष्टरका विद्यार्थीको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा विद्यार्थीले सुनचोरी तथा पैठारी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गरेका थिए । अदालतमा बहस गर्ने शैली, मुद्दाको तयारी, कानुनी आधार खोज्ने तथा आफ्नो पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन् । विद्यार्थी प्रतिक्षा चालिसेले व्यवसायिक कानुनका जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा ब्राइट भिजन स्थापित रहेको बताउनुभयो ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]