काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिनको माग गर्नुभएको छ ।
प्रतिनिधिसभामा विशेष समय लिएर संयोजक प्रचण्डले कप्तानगञ्जमा घटनामा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्नुभयो ।
संयोजक प्रचण्डले देशमा संवाद र सहकार्यमार्फत जस्तोसुकै समस्याको समाधन गर्ने परम्परा रहेकाले सुनसरी घटना पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै निर्वाचनमा जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको र दिन प्रतिदिन परिस्थिति असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको बताउनुभयो ।
संयोजक प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गर्दै हजारौँको बलिदान, त्याग र लामो सङ्घर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई कमजोर पार्ने उद्देश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
संयोजक प्रचण्डले अहिलेको अवस्थामा राष्ट्रपतिको जिम्मेवारी, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा मुख्य विषय भएकाले यसमा सबै एकमत भएर अगाडी बढ्न सक्नुपर्ने र यसबाट सबै खालका समस्या समाधान र विश्वास बढाउने दिशातर्फ जान सकिने बताउनुभयो ।
संवादबाट टाढा जाने र प्रतिपक्षीलाई अवमूल्यन गरेर अगाडि बढ्दा राष्ट्र अप्ठ्यारोमा पर्ने भन्दै संयोजक प्रचण्डले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी समेत दिनुभयो ।