प्रतिनिधिसभामा कप्तानगञ्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण

  • साउन १४, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ ।
बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिनुभयो ।
संसद्मा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गर्नुभएको भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै विरोध गर्न बाध्य हुनुपरेको बताउनुभयो ।
उहाँले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।
सरकारको पहिलो कर्तव्य नागरिकको जीउधनको रक्षासहित सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेकाले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले सीमाका विषयमा दुई महिनाअघि संसद्मा बोलेको विषय सच्याउन अनुरोध गर्नुभयो । सुकुमवासी समस्याको समाधान छिटो गर्न, रासायनिक मलको व्यवस्था गर्न, मलको खोजीमा भारततर्फ गएका चार जना नेपाली २५–२६ दिनदेखि हराएका र अहिले उनीहरू भारतीय जेलमा थुनामा रहेको भन्ने विषयलाई गम्भीर रुपमा लिई सकुसल नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
यही साउन १० गते सुनसरी जिल्लामा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउनुभयो । उत्तेजना, आवेगले ठीक ठाउँमा नपुग्ने भएकाले संयमता अपनाउन र कप्तानगञ्ज घटनाको जिम्मा लिन सरकारसँग अनुरोध गर्नुभयो । ‘सबै बाँचौँ, सबैलाई बचाऔँ’ को अवधारणामा काम गर्नुपर्ने भनाइ सांसद अर्यालको थियो ।
यसैगरी, देशभर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग पटकपटक गर्दा पनि पूरा नभएको भनी दुःख व्यक्त गर्नुभयो । सुनसरीको कप्तानगञ्जमा भएको घटनाका विषयमा राज्य संवेदनशील नभएको आरोप लगाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले सुनसरीको घटना समाधान गर्न र सद्भाव कायम गर्ने सम्बन्धमा सबै दलले स्पष्ट रुपमा बोल्नुपर्ने बताउनुभयो । सो घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउँदै उहाँले सरकारका तर्फबाट थप पहलको आवश्यकता आँैल्याउनुभयो । सांसद ओलीले समाजिक सद्भाव कायम गर्न सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले दुई महिनाअघि सिमानाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका विषय स्पष्ट नभएकोे र संसद्को अभिलेखबाट सो कुरा नहटेको बताउनुभयो ।
उहाँले सुनसरीलगायत क्षेत्रमा देखिएको घटना र अशान्तिको विषय समाधानका लागि सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै समाधानका लागि सरकारले नै पहलकदमी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्ता समस्याको समाधान गर्न बल प्रयोग गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]