सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा राजनीतिक दलहरुको अपिल

  • साउन १३, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेको छ ।
सर्वदलीय बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्तिसहित राहत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गरेको हो ।
यसैगरी, नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि अवाञ्छित गतिविधि तथा उत्तेजनामा नलाग्न आमनागरिकलाई आग्रह गरेको छ । आवेग र मुठभेडले समस्याको समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन देशवासीसँग अपिल गरेको छ ।
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट सम्भव हुने भन्दै बैठकले सम्बन्धित सबै पक्षलाई आफ्ना माग तथा असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आह्वान गरेको छ ।
सामाजिक सद्भाव र दिगो शान्ति कायम राख्न केन्द्रको प्रयासले मात्र सम्भव नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न आआफ्ना पार्टीका विभिन्न तहका समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले यस्ता संवादलाई तल्लो तहसम्म पुर्याई नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न तथा स्थानीय धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई समेत सहभागी गराएर मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सम्बद्ध पक्षसँग अनुरोध गरिएको छ ।
त्यसैगरी, यस्ता प्रकृतिका दुःखद् तथा संवेदनशील घटना भविष्यमा देशका कुनै पनि भूभागमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तह गम्भीर रहेको जनाउँदै आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमनसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले संवेदनशील अवस्थामा सामाजिक सञ्जाललगायतका माध्यमबाट फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थिति थप भयावह बनाउन सक्ने भन्दै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ ।
त्यस्तै यस किसिमको संवेदनशील घटनाबाट हुनसक्ने क्षतिको न्यूनीकरण तथा रोकथाम गर्न आमसञ्चारमाध्यमका महत्त्वपूर्ण भूमिका हुने भएकाले सोहीअनुसार अझ संयमित, जिम्मेवार र तथ्यपरक सूचनामात्र सम्प्रेषण गर्न आसञ्चारमाध्यमको ध्यानाकर्षण गरेको छ ।
देवानगन्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरी शोकाकूल परिवारमा समवेदना, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सामाजिक सद्भाव र दिगो शान्ति स्थापनाका पक्षमा सर्वदलीय बैठकमा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
रास्वपाका सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) , नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारीले उक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ ।

कात्स्यव गोत्रीय अधि ...

सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल ...

बर्डफ्लु नियन्त्रणमा ...

चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै ...

दक्षिणकाली माताको मन ...

हेटौँडाको सानोपोखरास्थित प्रसिद्ध श्री दक्षिण ...

विद्यालयको आवासीय को ...

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]