मोरङ l मोरङको रङ्गेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा एक दिने विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका विद्यार्थीहरू, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावकहरू, प्रधानाध्यापक, स्वास्थ्य शिक्षक तथा शिक्षक प्रतिनिधिहरू सहभागी कार्यक्रममा स्वास्थ्य सम्बन्धी किशोरकिशोरी स्वास्थ्य अवस्थाका समस्या, कुपोषण समस्या, आँखा, दाँत, छाला रोग समस्या, स्वास्थ्य सम्बन्धी आधारभूत विषय, स्वास्थ्य शिक्षा, मानसिक रोग समस्या, किशोरीमैत्री विद्यालय, लागूपदार्थ दुर्व्यसन समस्या, व्यक्तिगत सरसफाई लगायतका विषयमा विज्ञ तथा रङ्गेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रप्रसाद मण्डल, अमित कुमार मिश्र, दीपिका भगत लगायतले सहभागीहरूलाई सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा रङ्गेली नगरपालिका वडा नं. १ स्वास्थ्य चौकीकी प्रतिनिधि सुशील दाहाल, विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, स्वास्थ्य शिक्षक भोला सरदार, विद्यालयकी नर्स ममता चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना रङ्गेली नगरपालिका स्वास्थ्य शाखाले गरेको हो । कार्यक्रममा विद्यार्थीहरू चेतना खवास, समीक्षा खवास, सृष्टि भुजेल, संगम तामाङ लगायतको सहभागिता रहेको जनाइएको छ ।
प्रमुख अतिथि तथा रङ्गेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रप्रसाद मण्डलले आगामी दिनमा एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्याउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई सुझाव दिनुभएको थियो।
त्यस्तै प्रधानाध्यापक केशरबहादुर बानियाको संयोजकमा छ सदस्य त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा स्वास्थ्य समन्वय इकाई समेत गठन गरिएको जानकारी विद्यालयले दिएको छ।
