इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको ज्येष्ठ नागरिक समाज नेपालको १५ औँ वार्षिक साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित सेन्टर प्लाजाको होटल बरन्डाको सभाहलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक, समाजसेवी, पत्रकार तथा असल छोरी–बुहारीलाई सम्मान गर्दै समाजले आफ्नो वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।
ज्येष्ठ नागरिक समाजका अध्यक्ष धर्मराज आचार्यको अध्यक्षता तथा ज्येष्ठ अभिभावक चेवनप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्षले आर्थिक प्रतिवेदन तथा अध्यक्ष आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमार्फत समाजले वर्षभरि सञ्चालन गरेका सामाजिक, स्वास्थ्य तथा ज्येष्ठ नागरिक हितसम्बन्धी गतिविधिबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा समाजसेवी राजेश श्रेष्ठद्वारा स्थापित विष्णु–गणेश–लिला श्रेष्ठ स्मृति पुरस्कारबाट पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका आवाज र मुद्दाहरूलाई निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप सप्तकोशी टेलिभिजनका सञ्चालक दीपक कार्की र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै, लिलामाया गिरी स्मृति कोषबाट प्रदान गरिएको ज्येष्ठ नागरिक सम्मानअन्तर्गत ९४ वर्षीय घनेन्द्र गिरी र ९० वर्षीया योगमाया दंगाललाई नगदसहित सम्मान गरिएको थियो । समाजका ज्येष्ठ सदस्य राधादेवी गुरागाईं र गोमा देवी निरौलालाई पनि सम्मान गरिएको थियो ।
समाजका विभिन्न कार्यक्रम सफल बनाउन सहयोग पुर्याएको भन्दै कृष्णप्रसाद लुइँटेल, नरबहादुर दाहाल, विनोद अधिकारी, सानुमाया कार्की र अर्जुन कार्कीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यस्तै असल छोरी–बुहारी सम्मानबाट सुनिता पुरी, हिमा देवी खत्री र गंगा देवी अधिकारी सम्मानित भएका थिए ।
कार्यक्रममा सेन्टर प्लाजाका सञ्चालक तथा समाजसेवी राजेश श्रेष्ठलाई पुरस्कार स्थापना गरेको तथा कार्यक्रम सञ्चालनमा सहयोग पुर्याएको भन्दै विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएकाले उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्य र समाज दुवैले विशेष ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष आचार्यले ज्येष्ठ नागरिकको हित र अधिकारका लागि समाज निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा गायक बालकृष्ण सिग्देलले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । कार्यक्रममा सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरिएजस्तै ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गर्न सरकारसँग माग गर्न समाजलाइ आग्रह गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक समाजका वडा अध्यक्ष, सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।