हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

  • वैशाख २७, २०८३ / नेपाल रेखा
alt

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।
मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् ।
प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
उहाँले एक सातायता भारतको आसामबाट आएका लगभग १०० को सङ्ख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारिको जङ्गलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलग्गिएर ३० देखि ४० को सङ्ख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको जानकारी दिनुभयो ।
हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने उपाय खोज्न हालै सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने, साँझ ६ः०० बजेपछि हात्ती हेर्ने निहुँमा प्रवेश नाकाहरुमा सर्वसाधारणलाई जान रोक लगाउने, प्रभावित क्षेत्रका आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्रयाक्टर परिचालन गर्ने, ट्रयाक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्नेलगायत निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती तीन वटा वडामा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबारको आवश्यक मर्मतसम्भारका लागि प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।
एकदशकअघि जडान गरिएको उक्त विद्युतीय तारबारमा प्रयोग भएका अधिकांश ब्याट्री फेर्नुपर्ने अवस्था रहेको हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको ३० लाख बजेटमा सीमाको सौर्य तारबार मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूर्वअध्यक्ष निरज घिमिरे नेपालमा बाली पाक्ने बेलामा भारतबाट सयौँको हुलमा भित्रिने हात्तीका कारण बर्सेनि जनधनको क्षति दोहोरिने गरेको बताउनुहुन्छ । उहाँले भारत सरकारको सम्बद्ध निकायसँग उच्चस्तरीय वार्ता गरेर हात्तीको बथान रोकिनुपर्ने माग गर्नुभएको छ ।
यसपाली आएका हात्तीले पाक्न लागेको मकैबाली खाएर सखाप गरेको र सुपारीको बोट भाँचेर सोत्तर पारेको छ । केही महिनाभित्रै हात्तीले बाहुनडाँगीमा तीन जनालाई आक्रमण गरेर घाइते बनाएको र १५ वटा घरमा क्षति पुर्याएको स्थानीय गोपी रिजालले बताउनुभयो । उहाँले सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारको ब्याट्री चोरी भएकाले नयाँ ब्याट्री फेर्नुपर्ने माग गर्नुभयो ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]