इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो) ले हालै कोशी प्रदेशमा बाढी, पहिरो र डुबानले निम्त्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघीय तथा प्रदेश सरकारलाई राहत र पुनःस्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्तिमार्फत अध्यक्ष नेम्बाङ्गले असोज १८, १९ र २० गते भएको अविरल वर्षा र त्यसबाट उत्पन्न विपद्ले विशेष गरी कोशी प्रदेशमा ठूलो क्षति पुर्याएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार, इलाममा मात्र ३८ जनाको मृत्यु भइसकेको छ भने प्रदेशभर ४५ भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । साथै, दर्जनौं घाइते र हजारौं विस्थापित भएका छन् ।
विज्ञप्तिमा अध्यक्ष नेम्बाङ्गले प्रदेश सरकार राहत र उद्धारमा सुस्त र निष्क्रिय देखिएको गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन्, ‘प्रदेश सरकार हालसम्म सुतेर बसेको आरोप खेपिरहेको अवस्था छ ।’ यस्तो गम्भीर विपदको समयमा जनताको जिउधनको सुरक्षामा सरकार गम्भीर नहुनु लज्जास्पद भएको माओवादी केन्द्रको ठहर छ ।
विज्ञप्तिमा त्रिपाल, कम्बल, खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा युद्धस्तरमा पुर्याउनुपर्ने माग गरिएको छ । हेलिकप्टरमार्फत राहत पुर्याउने योजना प्रभावकारी बनाउन पनि जोड दिइएको छ ।
साथै विज्ञप्तिमा घाइतेहरूको तत्काल निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति तथा आर्थिक सहयोगको घोषणा गर्न माग गरिएको छ ।
विस्थापितहरूको सुरक्षित स्थानमा दीर्घकालीन पुनःस्थापनाको माग गर्दै, बाढी र पहिरोले पुर्याएको मानवीय तथा भौतिक क्षतिको यकिन गरी उचित क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरिएको छ ।
दीर्घकालीनरूपमा यस्ता विपद् व्यवस्थापन गर्न सक्ने संयन्त्रको स्थापना गर्दै भविष्यमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि स्पष्ट योजना बनाउन पनि माग गरिएको छ ।
माओवादी केन्द्रले विपदबाट प्रभावितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरेको छ ।