इटहरी । तेह्रथुमको प्रदेशसभा–२ का सदस्य दुर्गाप्रसाद चापागाईंले कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा तेह्रथुमका जटिल समस्या उठाउँदै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सुखाग्रस्त क्षेत्र, खानेपानी अभाव, अधुरा पूर्वाधार र सडक निर्माणमा भएको ढिलासुस्ती सांसद चापागाईंले जोडतोडका साथ उठाएका हुन् ।
बृहद आठराई खानेपानी योजना अवरुद्ध– सांसद चापागाईंका अनुसार आठराई गाउँपालिकाका अधिकांश वडाहरू हाल सूखाग्रस्त अवस्थामा छन् र खानेपानीको चरम अभाव छ । उक्त समस्या समाधानका लागि आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले ‘बृहद आठराई खानेपानी योजना’ स्वीकृत गरे पनि कार्यान्वयनमा अवरोध आइरहेको उनले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाबाट लागत स्टिमेट पारित भई अधिकांश निर्माण सामग्री योजना स्थलमा पुर्याइएको भए पनि प्रदेश सरकारको नेतृत्व गरिरहेको दलका स्थानीय कार्यकर्ताहरूको अवरोधले योजना अघि बढ्न सकेको छैन । उनले योजना सहज रूपमा अघि बढाउन खानेपानी मन्त्रीसँग तत्काल सहजीकरणको माग गरेका छन् ।
सडक निर्माणमा ढिलाइ, सांसदको भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह – तेह्रथुमको म्याङलुङ–पोक्लावाङ–सम्दु–संक्रान्तिबजार सडकअन्तर्गत खुङरिङ खोला–सम्दु भन्डारिडाँडा खण्ड बहुवर्षीय कार्यक्रममा परेपनि टेन्डर प्रक्रिया ढिलो भइरहेको भन्दै उनले भौतिक पूर्वाधार मन्त्रीसँग तत्काल प्रक्रिया अघि बढाउन माग गरे ।
त्यस्तै, तेह्रथुम र पाँचथरका सदरमुकाम जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग ‘आठराई मंसारि–थोक्लुङ–फेदाप–म्याङलुङ भीम मार्ग’लाई बहुवर्षीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
अधुरा भवन अलपत्र, प्रदेश सरकारको ध्यानाकर्षण–सांसद चापागाईंले विगत वर्षहरूमा स्वीकृत भएर निर्माण सुरु गरिएका तर हाल अधुरो अवस्थामा रहेका भवनहरूको निर्माण प्रक्रिया पुनः सुरु गर्नुपर्ने बताए । उनका अनुसार यस्ता समस्याहरू केवल तेह्रथुममा नभई प्रदेशका अधिकांश जिल्लामा रहेका छन् ।
‘प्रदेश सरकारले योजना स्वीकृत गरेर बिचमै अलपत्र पारेर भाग्न मिल्दैन’, उनले भने, ‘यी अर्धनिमित भवनहरूको निर्माण कार्य तत्काल अघि बढाउनुपर्छ ।’