इटहरी । कोशी प्रदेश सांसद सपना परियारले वैदेशिक रोजगारीका नाममा ठगिएका नेपाली युवाहरूको पीडामा गम्भीर चासो व्यक्त गर्दै कोशी प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले प्रदेशस्तरबाटै ठगी रोक्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएकी हुन् ।
बिहीवार बसेको कोशी प्रदेशसभाको बैठकमा सांसद परियारले सुनसरीको रामधुनी–४ का अजय चौधरी र इनरुवा–७ का सनी चौधरीको उदाहरण प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा हुने ठगीको प्रतिनिधि घटना उल्लेख गरिन्। ती दुई युवालाई इटहरी हुदै काठमाडौंको कपिल मेनपावरमार्फत साउदी अरब पुर्याएर अलपत्र बनाइएको भन्दै उनले ठगीको शृंखलाबद्ध घटना उजागर गरिन् ।
उनका अनुसार, प्रति व्यक्ति २ लाख ५० हजार लिई पठाइएका ती युवाहरूको उद्धारका लागि उल्टै ४ लाख मागिएको छ । ‘यो त प्रतिनिधि घटना मात्र हो, यस्ता पीडित हजारौं छन्,’ उनले भनिन् ।
वैदेशिक रोजगार विभागमा पछिल्लो ११ महिनामा मात्रै ५ हजार ५ सय ५४ ठगीसम्बन्धी उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षमा ४ हजार ९ सय ७४ उजुरी परेका थिए । तीमध्ये ५२८ उजुरी मिलापत्रमार्फत टुंगिए पनि २१५ उजुरी हाल अदालतमा छन् ।
‘यी उजुरीहरूसँगै हजारौं सपनाहरू चकनाचुर भएका छन्,’ सांसद परियारले भनिन्, ‘ऋणको भारले थिचिएका युवाहरूको भविष्य अन्धकारमय हुँदै गएको छ ।’
उनले ३२ करोड ८७ लाखभन्दा बढी रकम पीडितलाई दिलाइएको भए पनि ठगी नरोकिएकोप्रति चिन्ता व्यक्त गरिन् । यसका लागि नीतिगत कमजोरी, कानुन कार्यान्वयनको कमजोरी र दलाल सञ्जाल जिम्मेवार रहेको बताउँदै दीर्घकालीन समाधान खोज्न आग्रह गरिन् ।
सांसद परियारले प्रदेश सरकारलाई ठगी रोक्न निगरानी संयन्त्र गठन गर्न, गाउँ–गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्न, कानुनी सहायता केन्द्रहरूलाई प्रभावकारी बनाउन र दर्ता नभएका म्यानपावर तथा एजेन्टविरुद्ध संघीय सरकारसँग समन्वय गरी कडा कारबाही गर्न आग्रह गरेकी छन् ।