दुई दलीय गठबन्धनको सरकार भ्रष्टचारमा लिप्त– सांसद चापागाईं

  • भदौ ४, २०८२ / नेपाल रेखा
alt

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले काँग्रेस–एमाले सम्मिलित वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।
कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता साझेदार दलहरू भ्रष्टाचारमा लिप्त रहेको गम्भीर आरोप लगाए । उनले दुई ठूला दलको गठबन्धन ‘काले काले मिलेर भाले खाने’ उद्देश्यले बनेको भन्दै सरकारको एक वर्षे कार्यकालको चर्को आलोचना गरे ।
संघीय तथा प्रदेश सरकार सञ्चालनको एक वर्षलाई हेर्दा सरकार निरंकुश र स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ । ‘आज जहाँ सरकार, त्यहाँ भ्रष्टाचार भन्ने मान्यता स्थापित भएको छ,’ उनले भने, ‘यो गठबन्धन आफू र आफ्नालाई जोगाउन मात्र बनेको हो भन्ने कुरा प्रधानमन्त्री स्वयंले ‘हामी नमिलेको भए जेल हाल्ने तयारी थियो’ भनेर पुष्टि गरिसक्नुभएको छ ।’
चापागाईंले सरकारले संवैधानिक परिषदमा बहुमत पु¥याउन संघीय संसदमा एक महिला उपसभामुखलाई हटाउन खोजेको भन्दै त्यसको घोर निन्दा गरे । उनले दुई तिहाइको बलमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई समेत नियन्त्रणमा लिन खोजेको आरोप लगाए । ‘संघमा जस्तै प्रदेशमा पनि सभामुख हटाएर सत्तापक्षबाटै नयाँ सभामुख बनाउने कसरत भइरहेको हल्ला छ,’ उनले भने, ‘यदि यो साँचो हो भने प्रदेशको अस्थिरतालाई थप मलजल नगर्न म प्रमुख दुई दललाई आग्रह गर्दछु ।’
प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लिम्बू र मैथिली भाषालाई समावेश गर्न ल्याएको विधेयकको स्वागत गर्दै उनले सत्तापक्षलाई जस लिन हतारो भएको आरोप लगाए । उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धि माओवादी जनयुद्ध र यसका नेता प्रचण्डको देन हो । एउटा विधेयक ल्याएर जस लिन खोज्नुको अर्थ छैन, यसको जस युगयुगसम्म माओवादीले नै पाउनेछ ।’
प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष र लगानी सम्मेलनको उपलब्धिमाथि पनि उनले प्रश्न उठाए । ‘पर्यटन वर्षपछि कति पर्यटक भित्रिए ? लगानी सम्मेलनपछि कुन–कुन परियोजना सुरु भए र कति लगानी सुनिश्चित भयो ? यसको विवरण सरकारले सदनलाई दिनुपर्छ,’ उनले भने ।
उनले सरकार भागबण्डा र सेटिङमा व्यस्त रहेको तर प्रदेशको स्थायी संरचना निर्माणमा उदासीन रहेको आरोप लगाए । आफ्नो मन्तव्यको अन्त्यमा उनले सत्तापक्षका नेताहरूबाटै आएका ‘प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच’ र ‘सहयात्री दलले सरकारी जग्गा देख्नै नहुने’ जस्ता अभिव्यक्ति स्मरण गराउँदै यस्तो राज्यदोहनबाट मुलुकलाई बचाउन सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए ।

कुम्भकर्ण र कञ्चनजङ् ...

तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत स ...

अरिहन्त देखि पानीपिय ...

कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग ...

आलोचनात्मक प्रतिपक्ष ...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ...

सुनचाँदीको मूल्य केह ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटे ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]