इटहरी । नागरिकलाई सेवा दिनेमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । तर, सुनसरीको इटहरी उपमहानगरपालिका भने सम्भावना र समस्याबीच अल्झिरहेको छ । यही सन्दर्भमा इटहरीका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर सरकार, प्रदेश सरकार र संघिय सरकारलाई खबरदारी गरेका छन् ।
पूर्व प्रमुख चौधरीले आफ्ना कार्यकालका प्रयासहरू अधुरो रहेको र वर्तमान सरकारको उदासिनतालाई मुख्य मुद्दा बनाउँदै भने, ‘म इटहरीवासीको आवाज बुलन्द पार्न आएको हुँ, किनकि यो शहर सम्भावनाले भरिएको भएपनि अब सुस्ताउँदैछ ।’
चौधरीले संघीयता कार्यान्वयनसँगै तीन तहबीचको सहकार्य र सहअस्तित्वको भावना कमजोर हुँदै गएको उल्लेख गर्दै भने, ‘संविधानले परिकल्पना गरेको संघीय शासन शैली इटहरीमा व्यवहारमा देखिएको छैन। तीन तहका सरकारबीच संवाद, समन्वय र उत्तरदायित्वको अभाव छ ।’
इटहरीलाई कोशी प्रदेशको राजधानी बनाउने अभियानमा अगुवा रहेर काम गरेका चौधरीले यो विषयमा गुनासो पोखे । ‘इटहरीले राजधानी बन्ने ऐतिहासिक अवसर गुमायो । हामीले अभियान चलाए पनि सफल हुन सकिएन,’ उनले भने ।
इटहरीका दीर्घकालीन विकास र सुरक्षा सुनिश्चित गर्ने बाहिरी चक्रपथ योजना (४२ किमी), टेङ्ग्रा डाइभर्सन, जनता पार्क, बहुजातीय संग्राहलय, कालोपत्रे सडक तथा मोटरेबल पुलजस्ता महत्वाकांक्षी योजनाहरू अलपत्र परेको उनको गुनासो थियो । उनले वर्तमान सरकारले यी योजनाप्रति कुनै चासो नदेखाएको बताए ।
चौधरीले इटहरीमा रहेको २५ शैयाको अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्न नसकिएकोप्रति खेद व्यक्त गरे । साथै, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी इञ्जिनियरिङ र मेडिकल शिक्षा प्रवाह गर्ने सरकारी कलेज स्थापनामा सरकार गम्भीर नभएको बताए ।
साथै, इलाका प्रहरी कार्यालय अत्यन्त सानो ठाउँमा खुम्चिएर सेवा दिइरहेकोप्रति पनि उनी चिन्तित देखिए ।
चौधरीले इटहरी उपमहानगरपालिकामा पार्टी कार्यकर्तालाई मात्र प्राथमिकता दिइएको आरोप लगाए । ‘स्थानीय सरकार सत्ता पक्षका कार्यकर्ता भर्ना गर्ने केन्द्र बन्नु दुःखद हो,’ उनले भने ।
त्यसैगरी, सार्वजनिक सम्पत्ति संरक्षण गर्न नसकिएको, विशेषतः डि.भि.एम. बोर्डिङ स्कूलले हडपेको सरकारी जग्गा अझै सरकारी नियन्त्रणमा नआएको विषयमा पनि उनले गम्भीर प्रश्न उठाए ।
इटहरी उपमहानगरपालिकाले समयमै बजेट ल्याउन नसकेको, आर्थिक अनियमितता र चुहावट देखिएको आरोप लगाउँदै चौधरीले भने, ‘यो नगरवासीको भविष्यमाथि खेलवाड हो । बजेट ल्याउन नसकेर नगर सरकारले आफै बजेट होलिडे मनाइरहेको छ ।’
पत्रकार सम्मेलनको अन्त्यमा चौधरीले इटहरीवासी नागरिकलाई खबरदारी र सचेत हुन आह्वान गरे । ‘अब चुप लागेर बस्ने समय छैन । तीन तहका सरकारलाई आफ्नो ठाउँबाट खबरदारी गर्नु आवश्यक छ,’ उनले भने ।