सर्पदंश उपचार केन्द्रकै सेवाक्षेत्रमा सर्पले डसेर मृत्यु

  • साउन १३, २०८२ / नेपाल रेखा
alt

इटहरी । बत्तीमुनि अँध्यारो भने जस्तो सर्पदंश उपचार केन्द्र इटहरीकै सेवाक्षेत्रमा सर्पले डसेर सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो इटहरी–५ तुलसा टोलस्थित घरमै सुतिरहेको अवस्थामा गोमन सर्पले डसेकी ६४ वर्षीया योगेश्वरी भण्डारीलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
सर्पदंशपीडित भण्डारीलाई सुरुमा घरबाट करिब आधा किलोमिटरको दुरीमा रहेको सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ केहीबेर राखेर जाँच गर्दैगर्दा बिरामीको अवस्था झन् बिग्रिन थालेपछि चिकित्सकले बुढीगङ्गास्थित विराट शिक्षण अस्पताल रेफर गरेका थिए ।
चार दिन सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको मृतकका पति केशव भण्डारीले बताए । उनका अनुसार घरको सटरको चेपारोमा लुकेर बसेको गोमन सर्पले टोकेको रहेछ । सुरुमा सर्पले टोकेको हो कि काँटीले घोचेको हो भन्ने यकिन भएन । एक घण्टापछि बिरामीलाई जीउ पोलेको अनुभव भयो र पानी खान दिँदा झन साह्रो भयो ।
घटना भएको तुलसा टोलसँग सिमाना जोडिएको कोसी राजमार्गपारि नेपाली सैनिकको पूर्वी पृतना मुख्यालय छ, जहाँ सुविधासम्पन्न ठानिएको सामुदायिक सर्पदंश उपचार केन्द्र रहेको छ ।
यस घटनालाई व्यक्ति स्वयम्मा चेतनाको कमीमात्र होइन, राज्य खासगरी स्थानीय सरकारको कमजोरीका रूपमा पनि हेर्न सकिने तुलसा टोल विकास समितिका अध्यक्ष गोपाल भट्टराई बताउँछन् । सर्शदंशबाट जोगिन वा सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचारका तरिकाबारे नियमित घरदैलो अभियान सञ्चालन गर्न र त्यस्तो सूचना भुइँ तहसम्म पुर्याउन नसक्नु राज्यको कमजोरी भएको अध्यक्ष भट्टराईको भनाइ छ ।
संयोगले नागपञ्चमीको एक दिनअघि सर्पदंशबाट मृत्यु भएको घटनालाई स्थानीयले व्यक्तिको लेखान्तका रूपमा पनि हेरेका छन् । नेपाली समाजमा बाघले खान्छ देखेर, साँपले खान्छ लेखेर भन्ने भनाइ प्रचलित रहेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]