इटहरी । सुशासनको बलियो जग बसाल्न नागरिक र जनप्रतिनिधिबीचको सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिंदै मोरङको सुन्दरहरैंचा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ५ मा रहेको सतकविर धार्मिक भवनको हलमा आयोजित कार्यक्रममा नगरवासीहरूले नीतिगत, विकासा र सेवाप्रदायक विषयमा प्रश्न उठाउँदै जनप्रतिनिधिहरूसँग सवाल–जवाफ गरेका थिए ।
सुन्दरहरैंचा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही नगरपालिकाका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगरपालिकाको प्रगति, उपलब्धि, बजेट खर्च र सेवा प्रवाहबारे नगरवासीलाई जानकारी दिएका थिए । उनले नगरको विकासमा सबै नागरिकको सक्रिय सहभागिता र सहयोग जरुरी रहेको अपेक्षा गरे ।
सुनुवाइमा सहभागी नागरिकहरूले विकास निर्माण ढिला हुनु, हसिना सिमसार क्षेत्रमा काम रोकिएको अवस्था, कार्यालयमा सेवाग्राहीले कर्मचारी नभेटिनुजस्ता सवालहरू उठाएका थिए । यस्ता सवालहरूको जवाफ दिंदै नगर प्रमुख गुरागाईंले संघ, प्रदेश र स्थानीय सरकारबीचको बाझिएको कानुन, सिमित स्रोतकाकारण यस्तो भएको बताए ।
नगर प्रमुखले पर्यटकीय सम्भावना बोकेको हसिना सिमसारलाई समुचित विकास गर्न र नगरलाई ‘शिक्षाको विशिष्ट क्षेत्र’ बनाउनका लागि पूर्वाञ्चल विश्वविद्यालय, सुकुना क्याम्पस, आईटी कलेज लगायतका शैक्षिक संस्थाको भूमिकालाई जनस्तरमा अझ फैल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी नगरवासीहरूले शिक्षा, स्वास्थ्य, सुशासन, फोहोरमैला व्यवस्थापन, लागुऔषध दुरुपयोग, राजस्वको सहि उपयोग लगायत विषयमा जिज्ञासा राख्दा नगर प्रमुख तथा पदाधिकारीहरूले जवाफ दिने प्रयास गरेका थिए । नागरिक कृष्णकुमार घिमिरेले बुढीगंगा घाट पूर्वतर्फ निर्माण आवश्यक रहेको कुरा राख्दा नगर प्रमुखले आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, तालिम कार्यक्रमको प्रभावकारिता, अस्पताल सेवाको पहुँच, गछिया स्वास्थ्य चौकीमा चिकित्सक राख्ने तयारी, फोहोर व्यवस्थापनको मोडल, भूमि सम्बन्धी समस्या समाधान आदि विषयमा समेत छलफल भयो ।
कार्यक्रमको सहजीकरण पत्रकार बाबुराम निरौलाले गरेका थिए ।
यस्तो सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय शासनमा पारदर्शिता झल्किनुका साथै, जनप्रतिनिधि र नागरिकबीच आपसी समझदारी र सहकार्यलाई बलियो बनाउने स्थानीय रुद्र दाहालले बताए ।