कोशी प्रदेश सरकारको बजेट प्रदेशसभाबाट बहुमतले पारित

  • असार १३, २०८२ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।
सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो । उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्ताव गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट निर्माण गर्दा आम नागरिकको भावना र चाहनालाई केन्द्रमा राखी गरेको जानकारी दिँदै बजेटमा कसैमाथि अन्याय भएको दाबी गर्नुभयो ।
“बजेटमा सन्तुलन कायम छ, बजेट निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्षलाई नहेरी जनताको आवश्यकताका योजना र चाहनालाई समावेश गरिएको छ”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ, वनजङ्गल, मालपोत र यातायातका क्षेत्रबाट उल्लेखनीय राजस्व सङ्कलन गर्न प्रदेश सरकार योजनाबद्ध रूपमा लाग्नेछ ।”
प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेतालाई संसद्मा छलफल गर्न समय निर्धारण गर्ने प्रक्रिया गलत हो भन्दै संसद् सत्ताको नियन्त्रणमा रहन नहुने तर्क गर्नुभयो ।
नेता आङ्बोले सरकारले बजेट निर्माण गर्दा कुनै एक जिल्लालाई मात्र नभई सबै जिल्लालाई हेरेर बजेट बनाउनुपर्ने बताउँदै सरकारले प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई न्याय गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना परियारले सुनसरीको श्रीलङ्का टापु र कोशी बाँध भत्किँदा प्रभावित जनतालाई उचित व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]