इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरे । स्काउटर कार्यक्रम संयोजक शिक्षक वन्दना दाहालका अनुसार रक्तदानमा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँलेले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुपको आयोजनामा भएको थियो । सो क्रममा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीलगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवीलगायतको उल्लेखीय सहभागिता रहेको थियो । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।
इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौलाका अनुसार नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।
असार २ गते सबै स्काउट स्थल परिसर सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको छ । साथै वक्तृत्वकला प्रतियोगिताको पनि डिभिएम स्कूलमा आयोजना गरिएकोछ । डिभिएम स्कूलमै सिपकला प्रदर्शन, टेन्ट निर्माण, पुल, स्ट्रेचर, प्रवेशद्वारा बनाउनेजस्ता कार्यक्रम पनि आयोजना गरिएको आयुक्त सिटौलाले जानकारी दिए ।
असार ३ गते मार्चपास प्रतियोगिगता आयोजना गरिएको थियो । यो प्रतियोगिता मकालु बोर्डिङ्ग स्कूलमा भएको थियो । त्यसैगरि हाजिरीजवाफ प्रतियोगिता कोशी सेन्टजेम्स बोर्डिङ्ग स्कूलमा भएको थियो । बालविकास स्कूलमा डोरी गाँठो पार्ने प्रतियोगिता गराइएको थियो ।
असार ४ गते कचना माविमा चित्रकला प्रतियोगिता र प्राथमिक उपचार कस्तुरी स्कूलमा गराइएको थियो ।
र, अन्तिम दिन असार ५ गते साँझ डिभिएम बोर्डिङ्ग स्कूलमा दीप प्रज्वलन गरि स्काउट दिवस मनाइएको सोही स्कूलका प्रचार्यसमेत रहेका आयुक्त डा वेणुप्रसाद सिटौलाले जानकारी दिए ।
दीप प्रज्वलन कार्यक्रममा स्कूलका विद्यार्थीहरु, स्काउटहरु, शिक्षक, अभिभावक तथा स्थानीयको सहभागिता रहेको थियो ।