मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तामाङको पुनःबहाली

  • असार ४, २०८२ / नेपाल रेखा
alt

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् ।
अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् ।
तामाङ २०८० चैत २३ गते चार वर्षे कार्यकालका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । तर २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले तामाङलाई पदबाट हटाएका थिए । बस्नेतले आफ्नो निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप लाग्दै आएको छ ।
तामाङलाई हटाएर २०८१ माघ १७ गते सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बोर्ड बैठकले सुरज श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठ नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा बस्नेतसँग निकट सम्बन्ध भएका व्यक्तिका रूपमा चिनिन्छन् ।
पदच्युत गरेपछि तामाङले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त परामादेशको माग गर्दै रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा आदेश जारी गर्दै पूर्वस्थितिमा बहाल गर्न निर्देशन दिएको हो । अदालतको आदेशलाई आधार बनाएर तामाङले मंगलबार अध्यक्षको कार्यभार पुनः सम्हालेका हुन् ।
यसअघि तामाङले सदस्य सचिव बस्नेत र बोर्डविरुद्ध अदालतमा अपहेलना मुद्दा पनि दायर गरेका थिए । तर सो मुद्दामा अदालतले दाबी नपुगेको ठहर गर्दै खारेज गरेको छ ।
कार्यभार ग्रहण गरेपछि तामाङले राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई पदबाट हटाइएको बताएका छन् । उनले अदालतको आदेशले न्यायको जीत भएको भन्दै लोकतन्त्रमा कानुनी राज्यको मजबूती पुष्टि भएको बताएका छन् । ‘मलाई कुनै बेला राजनीतिक प्रतिशोध स्वरूप हटाइएको थियो,’ तामाङले भने, ‘तर अदालतले कानुनी प्रक्रियामार्फत न्याय दिलाइदियो । लोकतान्त्रिक व्यवस्थामा अदालतप्रति जनताको विश्वास झनै मजबुत भएको छ ।’
उनले अब जिल्ला स्तरको खेलकुद गतिविधिलाई पुनः सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘अब म सबै खेल संघ तथा खेलाडीहरूसँग सहकार्य गर्दै जिल्लाको खेलकुद क्षेत्रलाई अघि बढाउनेछु,’ तामाङले भने, ‘राजनीतिक हस्तक्षेप हटाएर पारदर्शी र निष्पक्ष रूपमा समितिको नेतृत्व गर्ने मेरो अठोट छ ।’

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]