पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु – अध्यक्ष नेपाल

  • जेठ २३, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले न्यायका लागि कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले आएको निर्णयप्रति नेता तथा कार्यकर्ता आत्तिन नपर्ने प्रष्ट पार्नुभयो ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी बैठकले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा दायर भएको मुद्दाको कानुनी उपचारमा जाने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारीको बैठकले पतञ्जली जग्गा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले आयोगको निर्णयप्रति असहमति जनाउँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको हो ।
विगतदेखि नै आफू नेतृत्वको पार्टीलाई कमजोर बनाउन तथा नेताहरूमाथि राजनीतिक प्रतिशोधका प्रयास हुँदै आएकाले निर्णयप्रति नआत्तिन बैठकले आम कार्यकर्ता एवं समर्थकलाई आग्रह गरेको छ ।
उक्त मुद्दा षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै बैठकले कानुनी उपचारमार्फत सत्य उजागर गर्ने र पार्टीपङ्क्तिलाई एकढिक्का रहन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।
आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित अन्यलाई दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसैबीच पार्टीले कानुनी उपचारका लागि अधिवक्ता तथा कानुनविद्लगायतसँग परामर्श गरेको छ ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]