थोरै बजेटमै आशलाग्दो उपलब्धि पिच सडकबाहेक पनि इन्टरलक ब्लकहरूले शहरको अनुहारमा विकासको रंग भर्ने काम भइरहेको देखिन्छ

  • जेठ १९, २०८२ / नेपाल रेखा
alt

राजन केडी
इटहरी । कोशी प्रदेश सरकारले सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र रामधुनीका विभिन्न वडाका सडकलाई कालोपत्रे गरी राष्ट्रिय राजमार्गसँग जोडेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा १० लाखदेखि ६० लाख बजेट विनियोजनमार्फत वडाका सडकलाई राष्ट्रिय राजमार्गसँग जोडेको हो ।
घरअगाडिको बाटो करोडभन्दा मुनिको बजेटमै मुख्य राजमार्गसँग जोडिएपछि स्थानीयवासीको यात्रा निकै सहज भएको छ । इटहरी–२ का लक्ष्मी भट्टराई घरअगाडिको बाटो कालोपत्रे भएपछि कता हो कता आनन्दको दिन फर्किएको बताउँछन् । उनलाई अब न उपमहानगरपालिका कार्यालय पुग्न गाह्रो छ, न त टोलभित्र नै यताउता जान–आउन सकस पर्छ । उनको बसोबास रहेको मिलीजुली टोलको सडक कोशी प्रदेश सरकारद्वारा कालोपत्रे भएपछि टोलभरिका बासिन्दाको दैनिक यात्रा सहज भएको छ ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले मिलीजुली टोल विकास संस्थाअन्तर्गत पर्ने गणेश मार्गदेखि आधारभूत स्वास्थ्य केन्द्रसम्मको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८१–८२ मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
स्थानीयवासी स्माइल मगर विगत सम्झिँदै, पहिला बर्खामा बाटो हिलो हुने, सवारीसाधन फस्ने, एम्बुलेन्स आउन पनि मुस्किल, अहिले खाल्डाखुल्डी पुरेर कालोपत्रे गरेपछि इटहरी चोक आउन–जान निकै सहज भएको बताउँछन् ।
इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला पिच सडकको प्रभाव प्रत्यक्ष देखिएको बताउँछन् । उनका अनुसार, पहिला वडावासी बर्खाको समयमा शान्ति टोल हुँदै वडा कार्यालय आउन असहज मान्थे । अहिले सडक सुधारपछि वडा कार्यालयमा चहलपहल बढेको छ ।
वडाको महेन्द्र माध्यमिक विद्यालयदेखि मुक्तिनारायण मन्दिर हुँदै कर्नेल टोलसम्मको बाटो पनि २५ लाख रुपैयाँमा कालोपत्रे गरिएको छ । यसैगरी संसारी टोलको शान्ति मार्ग पनि २५ लाख बजेटमा स्तरोन्नति सम्पन्न भएको पूर्वाधार विकास कार्यालय विराटनगरका सव–इन्जिनियर प्रवेश कर्णले बताए ।
भुल्के चोकदेखि कोशी राजमार्ग जोड्ने बाटो ६० लाखको बजेटमा स्तरोन्नति गरिएको छ । यसले व्यापारिक गतिविधिमा प्रत्यक्ष लाभ दिएको छ । ठेला–व्यवसाय गर्ने मञ्जु सुनाम भन्छिन्, ‘बाटो पिच भएपछि पसलमा ग्राहकको चहलपहल धेरै बढेको छ ।’ स्थानीय शान्ता गुरुङ्गले पनि राजमार्गसम्म पुग्न सजिलो भएको बताइन् ।
इटहरी–२ कै पाथीभरा टोल मिलन मार्ग हुँदै त्रिवेणी मार्ग जोड्ने सडक २० लाखमा स्तरोन्नति भएको छ । शुभ मार्ग राजदेवी, आनन्द मार्ग हवाई टोल, एकता मार्ग गणेश टोल क्षेत्रका सडकहरू इन्टरलक ब्लकमा परिणत भएका छन् । जसको लागत ३० लाख रुपैयाँ हाराहारीको छ । वडाध्यक्ष कोइराला भन्छन्, ‘यस्ता विकास योजनाले वडाको भौतिक पूर्वाधार मजबुत बनाएको छ ।’
इटहरी–४ मा मिलन चोकदेखि बुढीगंगा प्राथमिक विद्यालयसम्मको सडक ३० लाखमा पिच गरिएको छ । भेटघाट चोकदेखि पश्चिम नयाँ पुलसम्मको सडकको स्तरोन्नतिमा २५ लाख खर्च भएको छ । यस्तै, सर्पदंश उपचार केन्द्रबाट कोइराला निवाससम्मको बाटो १० लाखमा स्तरोन्नति गरिएको छ ।
इटहरी–५ को शितल मार्गमा ३० लाख र लोकतान्त्रिक मार्गमा १० लाख लगानी गरिएको छ । इटहरी–८ को त्रिवेणी टोल आकाश मार्गको स्तरोन्नति ३५ लाखमा सम्पन्न भएको छ ।
इटहरी–१० को ओसियन मार्ग ‘क’ देखि ‘ख’ हुँदै सूर्योदय टोल जोड्ने सडक स्तरोन्नति प्रदेश सरकारले सम्पन्न गरेको छ । ओसियन पार्क एण्ड रिसोर्ट प्रालिका सञ्चालक डम्बर तामाङ्ग भन्छन्, ‘सडक पिच भएपछि आन्तरिक पर्यटकहरू यहाँ आउन सहज भएको छ । आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ ।’ उनी यो मार्गलाई ‘पर्यटन मार्ग’ घोषण गर्नुपर्ने माग गर्छन् । ‘सडकले व्यवसायमा लगानी गर्न प्रेरणा मिलेको छ,’ तामाङ्ग भन्छन् । गत वैशाख २८ र २९ गते यो पार्कमा कोशी प्रदेश स्तरीय पौडी प्रतियोगिता सम्पन्न हुनु सडक सञ्जालकै प्रभाव हो । यो सडकका लागि २५ लाख बजेट विनियोजन गरिएको थियो ।
इटहरी–१० कै भीम र अमृत बिकको घर हुँदै फिरना चौधरीको घरसम्मको सडक २० लाखमा ड्रेनसहित निर्माण गरिएको छ । नेपाल टिम्बरपछाडिको र रिलायन्स मिलपछाडिका सडकहरू २०–२० लाखमा पिच गरिएको छ ।
इटहरी–११ मा डुमरटोका जोड्ने र दुर्गा पञ्चायन मन्दिरदेखि टावर टोलसम्मको सडक क्रमशः २० र २५ लाखमा स्तरोन्नति भएका छन् । कौशिला टोल जाने कृषि सडक पनि २० लाखमा सुधार गरिएको छ ।
यो कृषि सडकले उद्योग क्षेत्रमा कार्यरत मजदुर वर्गलाई लाभ पुग्ने मजदुर राजन काफ्ले बताउँछन् । उनी भन्छन्, ‘पूर्वाधार विकासले जब स्थानीय सडकजस्ता आधारभूत आवश्यकता पूरा गर्छ, त्यसको प्रत्यक्ष लाभ मजदुर वर्गलाई पुग्छ । काममा जान सजिलो हुन्छ, सवारी खर्च घट्छ ।’
इटहरी–१४ मा श्री शान्ति सृजना माविदेखि खिर्खिरिया दलित बस्ती हुँदै मूल नहरसम्मको करिब ३ किलोमिटर सडक स्तरोन्नति २५ लाख लागतमा सम्पन्न भएको छ ।
इटहरी–१६ को त्रिवेणी चोकदेखि पोखरिया र भाटभटेनीदेखि जब्दी मन्दिरसम्मको बाटो २५–२५ लाखमा स्तरोन्नति भएका छन् । इटहरी–१७ मा भवानी मार्ग २० लाखमा पक्की र ड्रेनसहित निर्माण गरिएको छ । इटहरी–१८ मा जोधपुरदेखि बडहरा जोड्ने बाटो २५ लाखमा स्तरोन्नति गरिएको छ ।
इटहरी–१९ मा अमहा पारिको बाटो २५ लाखमा, सहिद स्मृति आवासीय विद्यालय जाने बाटो २० लाखमा निर्माण गरिएको छ । इटहरी–२० मा जनसहयोग माध्यमिक विद्यालय पछाडिको लालुपाते टोल जाने बाटो २० लाखमा सुधार गरिएको छ ।
यसरी इटहरीमा ४० भन्दा बढी ग्रामीण सडक सञ्जाललाई कोशी राजमार्गसँग जोडिएको छ । पिच सडकबाहेक पनि इन्टरलक ब्लकहरूले शहरको अनुहारमा विकासको रंग भर्ने काम भइरहेको देखिन्छ ।
सुनसरीकै रामधुनीमा कोशी प्रदेश सरकारद्वारा गरिएको योजनाबद्ध र रणनीतिक सडक स्तरोन्नतिको कामले गति लिएको छ । नगर क्षेत्रका अधिकांश सडक सुधारका कामहरू थोरै बजेटमै सम्पन्न गरिएका छन् ।
रामधुनी नगरपालिका–५ मा हाटक दाहालको घरदेखि वयरबन टोलसम्मको सडक १० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ । यही वडामा केदार श्रेष्ठको घरदेखि दक्षिण–पश्चिम जाने सडक पनि १० लाख बजेटमा स्तरोन्नति गरिएको छ ।
त्यसैगरी वडा नं.५ स्थित थारु कल्याणकारी गेटदेखि झमक खड्काको घरसम्मको बाटो १५ लाखमा स्तरोन्नति भएको छ । रामधुनी नगरपालिका–२ मा रहेको ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरदेखि कालिझोडा चोकसम्मको बाटो १० लाखमा स्तरोन्नति गरिएको छ ।
रामधुनी–२ का वडाध्यक्ष रामनारायण चौधरी बाटोले धार्मिक पर्यटक, स्थानीय श्रद्धालुलाई बासिन्दालाई सिधा सुविधा पुर्याएको बताउँछन् । यद्यपि प्रदेश सरकारप्रति उनले गुनासो गर्दै भने, ‘म बाटो बनाउन फिल्ड देखाउन गएँ, पछि काम अघि बढ्दै गर्दा हामी स्थानीय जनप्रतिनिधिसँग कुनै किसिमको समन्वय भएन ।’
रामधुनी–२ कै सृजना टोलमा उमेश खड्काको घरअगाडिको बाटो पूर्व र दक्षिण हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ । यो बाटो २५ लाख लगानीमा सम्पन्न भएको छ ।
रामधुनी सप्लायर्सका रमेश दाहाल बाटो पिच भएपछि बजार प्रवद्र्धनमा सहज भएको बताउँछन् । उनी भन्छन्, ‘बाटो पिच भएपछि इनरुवा–इटहरीका बजारमा सामानको माग बढेको छ ।’
रामधुनी–३ स्थित परियारपुरबाट पिपरा फिल्ड हुँदै नहरसम्म निस्किने बाटो २५ लाखमा स्तरोन्नति गरिएको छ । यो बाटोले कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्याउने सबैभन्दा सस्तो र छरितो मार्गका रूपमा काम गरिरहेको छ । बाटो बनेपछि धान, तरकारी, गहुँजस्ता बालीको ढुवानी निकै सजिलो भएको स्थानीय कृषक मायाँ पाँचकोटी बताउँछिन् ।
कोभिड महामारीको समयमा निर्मित कोभिड अस्पतालमा पुग्ने मुख्य बाटो ‘युनिक मार्ग’ बाट अस्पतालसम्म १० लाखमा स्तरोन्नति गरिएको छ । त्यस्तै सिंगिया प्रभात क्लबको घरदेखि पानीट्यांकी रिङरोडसम्मको सडक कालोपत्रे गरिएको छ । जसको लागि २५ लाख रुपैयाँ खर्च भएको छ ।
सुनसरीकै बराहक्षेत्र नगरको भौगोलिक बनावट धार्मिक पर्यटनको केन्द्र चतरादेखि ग्रामीण बस्तीसम्म फैलिएको छ । प्रदेश सरकारले सञ्चालन गरेका योजनाले यहाँ पनि गति लिएको छ । यहाँको विकासमा कोशी प्रदेश सरकारले हालै सम्पन्न गरेका केही योजनाहरू हेर्दा यो स्पष्ट हुन्छ ।
पुलाहा चोक–खुङ्ग टोल सडक स्तरोन्नति गरिएको छ । बराहक्षेत्र नगरपालिका–४ मा पर्ने यो सडक २५ लाख रुपैयाँको लगानीमा स्तरोन्नति गरिएको हो । स्थानीय बासिन्दा अच्युत भट्टराईका अनुसार यस सडकले पुलाहाका बासिन्दालाई कालाबञ्जार बजारसँग जोडेको छ ।
बराहक्षेत्र–४ का वडाध्यक्ष आशाराम चौधरी सडकले बराहक्षेत्रको ८ र ४ नम्बर वडालाई जोडेको बताउँछन् । उनले वडाबाट माग गरेअनुसार प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । ‘अहिले काम सम्पन्न हुँदा वडावासीलाई लाभ मिलेको छ, आवत–जावतमा सहज भएको छ’ वडाध्यक्ष चौधरीले भने ।
स्थानीय युवा डम्बर परियार यतिबेला स्थानीय स्तरमा विकास–निर्माणको लहर नै चलेको बताउँछन् । बराहक्षेत्र–६ स्थित शिवालयदेखि शेरे चोकसम्मको बाटो १० लाख बजेटमा स्तरोन्नति गरिएको छ । यो बाटोले धार्मिक गन्तव्यसम्मको पहुँच सहज बनाएको छ । जसले आन्तरिक धार्मिक पर्यटकलाई आकर्षण गर्दै आएको छ ।
प्रगति चोक–लक्ष्मी चोक–चतरा मूल सडकले पर्यटनको ढोका खुलेको स्थानीय पुष्प ढुंगाना बताउँछन् । चतराको प्रवेशद्वार मानिने यस मूल सडकको स्तरोन्नति गर्न १० लाख बजेट विनियोजन गरिएको थियो । अहिले यो बाटो प्रयोग गरेर चतराको धार्मिक स्थल बराह क्षेत्र मन्दिर लगायतका स्थानमा जाने श्रद्धालु तथा पर्यटकहरूलाई सहज भएको ढुंगानाको भनाइ छ ।
बांगे बजार–बसपार्क सडक–बराहक्षेत्र–७ मा पर्ने बांगे बजारदेखि वडा नं. ६ स्थित बसपार्कसम्मको सडक स्तरोन्नति १० लाखमा सम्पन्न भएको छ । यो मार्ग स्थानीय व्यापारिक गतिविधि, यातायात र ग्रामीण बस्तीको शहरी पहुँच विस्तारमा महŒवपूर्ण साबित भएको छ ।
क्याम्पा चौरी–चतरा सडक–पर्यटन क्षेत्रको केन्द्रविन्दु चतरा पुग्ने अर्को मुख्य मार्ग क्याम्पा चौरीबाट सुरु हुन्छ । यस सडक स्तरोन्नतिमा पनि प्रदेश सरकारले १० लाख लगानी गरेको छ । चौरीबाट चतरासम्मको यात्रा अब छिटो, सुरक्षित र सहज भएको छ ।
जैसी चोक–पिपलगाछी–३२ नहर सडक–कृषिकेन्द्रित क्षेत्रमा पर्ने यस मार्गको स्तरोन्नति १० लाख बजेटमा सम्पन्न भएको छ । यस सडकले पिपलगाछी क्षेत्रका कृषकहरूलाई नहरसम्मको पहुँच दिंदै उत्पादनमा विविधता र आयमा वृद्धिको मार्ग खुला गरिदिएको छ ।
बराहक्षेत्र–७ बाङ्गे बजार साइडको ढल निर्माण २० लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ । ढल संरचना स्थानीय स्वास्थ्य र स्वच्छतासँग सम्बन्धित दीर्घकालीन पूर्वाधार भएकाले योजनाले वातावरणीय संरक्षणका साथै नागरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसैगरी, धरान–११ मा रहेको प्रगति मार्ग १० लाख रुपैयाँको लगानीमा सम्पन्न गरिएको छ । धरान–५ मा पर्ने फक्लेनटापु भवन मार्ग १० लाख रुपयाँको लगानीमा स्तरोन्नति गरिएको छ ।
धरान–४ मा पर्ने शिवधारा–गिरीगाउँ–शिवजटा मन्दिर मार्ग धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको शिवजटा मन्दिर जाने बाटो धरानको सांस्कृतिक पहिचानसँग जोडिएको छ । कोशी प्रदेश सरकारद्वारा २५ लाख लगानीमा स्तरोन्नति गरिएको यो सडकले गिरीगाउँलगायत आसपासका बस्तीमा यात्रालाई सहज बनाएको छ । साथै धार्मिक पर्यटन प्रवद्र्धनमा पनि यो मार्गले टेवा पुर्याएको छ ।
धरान–१७ मा पर्ने इन्द्रेणी मार्ग हुँदै बिजुवा मार्ग २५ लाखको लागतमा स्तरोन्नति गरिएको छ । धरान–११ मा पर्ने नगरकोट–बानडाँडा क्षेत्रमा सडक निर्माणका साथै ढल व्यवस्थापन तथा ग्राभेलिङको काम गरिएको छ । यो योजना २० लाख रुपैयाँमा सम्पन्न गरिएको हो ।
यो निर्माणका लागि नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूले टोल विकासका आवद्ध जनताले श्रमदानमा पनि भाग लिएको बताए । टोल विकास संस्थामा ९४ घरधुरी आबद्ध छन् ।
उनले ५१ हप्तासम्म टोलवासी श्रमदान गरेपछि प्रदेश सरकारको बजेट ल्याउन टोल विकास संस्था सफल भएको बताए । जनताले श्रमदान गर्न थालेपछि धरान उपमहानगर कार्यालयको तर्फबाट प्राविधिक र टिपर, डोजर सहयोग भएको उनले बताए । बाटो ग्राभेलिङ्ग भएपछि तल्लो टोलवासीलाई नगरकोटमा रहेको आधारभूत स्वास्थ्य केन्द्र आउन सजिलो भएको लिम्बूको भनाइ छ । यो बाटो बनेपछि धरानको पर्यटकीय स्थल विष्णुपादुका जान पनि सहज हुने उनको भनाइ छ ।
धरान–१७ मा बनेको लोकप्रिय मार्ग कालोपत्रे गरिएको छ । यो मार्ग २० लाख रुपैयाँमा कालोपत्रे गरिएको हो ।
धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई इन्द्रेणी मार्ग हुँदै विजुवा मार्गको स्तरोन्नति कार्यले वडाबासीको यातायातमा सहजता ल्याएको बताउँछन् । भट्टराईका अनुसार, बाटो बनेपछि वडा कार्यालयमा चहलपहल पनि बढेको छ ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर कुमार किसलय कर्ण सुनसरी जिल्लामा प्रदेश सरकारको बजेटबाट बनेका सडकले सामाजिक आर्थिक परिवर्तन ल्याएको बताउँछन् । उनी भन्छन्, ‘यो भनेको सानो बजेटमा ठूलो सामाजिक–आर्थिक परिवर्तन ल्याउने उदाहरण हुन् । न्यून लगानीमै नागरिकको यात्राको समय छोटिएको छ, सडकमा सुधार भएको छ ।’
सुनसरी जिल्लामा कोशी प्रदेश सरकारले हालै सम्पन्न गरेका विभिन्न सडक स्तरोन्नति योजनाहरूले स्थानीय जनजीवनलाई मात्र सहज बनाएको छैन, कृषिजन्य उत्पादन, स्वास्थ्य सेवा, धार्मिक पर्यटकीय गन्तव्य र शैक्षिक संस्थासम्मको पहुँच पनि सहज भएको छ ।
साना लगानीमा सशक्त परिवर्तन ल्याउने दृष्टान्तका रूपमा यी योजना सम्पन्न गरिएका छन् । प्रदेश सरकारले उद्योग क्षेत्रमा निर्भर मजदुर वर्ग, कृषि क्षेत्रमा निर्भर समुदायहरूको जीवनस्तर उकास्न पूर्वाधार विकासमार्फत दिएको योगदान उल्लेखनीय छ । आगामी दिनमा यस्ता योजनालाई अझ दिगो र गुणस्तरीय बनाउँदै लैजान सके सुनसरी जिल्लाका पालिकाहरू प्रदेशकै आर्थिक मेरुदण्ड बन्न सक्ने सम्भावना पनि त्यतिकै प्रबल देखिएको छ ।
यो फिचर समाचार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको लेखनवृत्ति कार्यक्रम अनुसार तयार गरिएको हो ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]