अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

  • वैशाख २४, २०८२ / नेपाल रेखा
alt

खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।
दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिनुभयो । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको हो ।”
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं १ लिकुवापोखरीका चार, वडा नं २ वाप्लुखाका एक, वडा नं ३ सावाकटहरेका चार, वडा नं ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ । त्यस्तै, वडा नं ६ इन्द्रणीपोखरीका छ, वडा नं ७ खोटाङबजारका एक, वडा नं ८ सिम्पानीका ११ र वडा नं ९ लिच्कीराम्चेका नौ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने छ ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उहाँहरू हर्षित हुनुभएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेका विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो  ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]