इटहरी । शिक्षक साथै कर्मचारीका छोराछोरीलाई उनीहरु कार्यरत विद्यालयमै पढाउने अभियानले सामुदायिक विद्यालय सुधारमा महत्वपूर्ण सहयोग भएको ठहर गरिएकोछ ।
यस्तो अभियानले सुनसरीको इटहरी–९ र ६ नम्बर वडामा अवस्थित जनता माध्यमिक विद्यालय कोशी प्रदेशकै उत्कृष्ठ सामुदायिक विद्यालयमा सूचिकृत हुन सफल भएको विद्यालय व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँशीनाथ दङ्गालले विद्यालयमा सुधार गरिएपछि १२ सय ८४ जना विद्यार्थीको संख्या बढेर ३ हजार २ सय २ जना पुगेको बताए । साथै भौतिक संरचनातर्फ १२ वटा कक्षाकोठालाई बढाएर ७६ कक्षाकोठा बनाइएको भएपनि बर्सेनि १ हजार बढी विद्यार्थीलाई कक्षाकोठा अपुग भएर भर्ना गर्न नसकिएको स्वीकार गरिएकोछ ।
विद्यालयमा कक्षा ११ र १२ मा कम्प्युटर, कानून र विज्ञानका कार्यक्रमहरु संचालित छन् । १ सय ४८ जना शिक्षक कर्मचारीको सेवा सुविधामा अभिभावकले सहजीकरण गरिरहेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएकोछ । विद्यालयमा कार्यरत ३२ जना शिक्षक कर्मचारीले राज्यकोषबाट सेवा सुविधा पाउने गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत विद्यालय व्यवस्थापन समितिले थप भौतिक पूर्वाधारका लागि पहल गरिदिन सबैमा आग्रह गरेकोछ ।
यही वैशाख ३ गतेदेखि विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिने हुदा नयाँ व्यवस्थापन समिति गठनका लागि विद्यालय प्रशासनले पहल थालिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा इटहरी उपमहानगर वडा नं. ६ का अध्यक्ष दिवश पोखरेलले विद्यालयको मातहतको जग्गा खोजी गर्ने कार्यमा अघि बढ्न विद्यालय प्रशासनलाई सुझाव दिएका छन् ।