इटहरी । जनवादी साहित्यको महत्व र जनवादी साहित्य लेखकहरुको सामाजिक प्रतिबद्धतालाई विस्तार गर्ने उद्देश्यका साथ अखिल नेपाल लेखक संघ सुनसरीले वुधवार संयुक्त कविता वाचन कार्यक्रमको आयोजना गरेकोछ ।
कार्यक्रम इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा आयोजना भएको थियो ।
कार्यक्रममा सहभागीहरुको ध्यान विभिन्न कविता वाचनतर्फ खिचिएको थियो । कविहरुले जनचेतना र समाजको सामाजिक–आर्थिक अवस्था सुधार गर्ने सन्देश बोकेका कविता वाचन गरेका थिए ।
यस कार्यक्रममा प्रख्यात कवि बम देवान र अन्य साहित्यकारहरुले आफ्ना काव्य रचनाहरु मार्फत समकालीन सामाजिक असमानता र प्रगति–संस्कृतिका विषयमा गहिरो विचार प्रस्तुत गरेका थिए । कवि बम देवानले ‘संकल्पित योद्धाको प्रतिबद्धता’ शीर्षकको कविता वाचन गर्दै देशको प्रगतिको लागि साहित्यको भूमिका र साहित्यकारको जिम्मेवारीको महत्वलाई चिनाएका थिए ।
त्यस्तै, कवि पुष्प ढुंगानाले बम देवानकै ‘सुनाखरी फूल’ नामक कविता वाचन गरे, जसमा उनले प्रगति र समृद्धिका लागि संघर्षरत समाजका विविध पात्रहरुको चित्रण गरेका थिए । उनी नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्यसमेत हुन् । उनले राजनीतिका साथै साहित्यमा आफ्नो योगदान दिइरहेका छन् ।
कार्यक्रममा सहभागी भएका अन्य कविहरु मध्ये कवि विमला पोखरेलले ‘प्यारो छ यो सुनसरी’, ‘चेतना’, ‘मेरो मत्युको इच्छा’ जस्ता काव्य रचनाहरु मार्फत सुनसरीको सामाजिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्दै, यस जिल्लाको ऐतिहासिक महत्व र भविष्यको सम्भावनालाई जनवादी दृष्टिकोणबाट प्रस्तुत गरिन् ।
उनले शिक्षालयलाई ‘वेदना र मर्म’, ‘व्यथा र विमलता’, ‘विपत्तीमा अल्झिएको मुटु’ लगायतका काव्य संग्रहहरु सोही शिक्षालयलाई प्रदान गरिन् । यी सबै कविताहरुले समाजका दीन–हीन, पीडित र उत्पीडित वर्गको पक्षमा बलियो आवाज उठाएका छन् ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्मा, युवा कवि आलोक चौधरी, नवराज मैनाली, कृष्णबहादुर विष्ट, प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष टिका मिलन र अन्य रचनाकारहरु जस्तै आलोक खनाल, जयकृष्ण यादवले वाचन गरेका कविताहरुले साहित्य र राजनीति बीचको गहिरो सम्बन्धलाई प्रकट गर्दै, समाजको परिवर्तन र संघर्षको कथा भनेका थिए । उनीहरुले आफ्नो सामाजिक दायित्व र मानवीय प्रतिबद्धतालाई स्मरण गरेका थिए । ।
अखिल नेपाल लेखक संघका अध्यक्ष आलोक खनालले माक्र्सवादी साहित्यलाई जनतासम्म पुर्याउने दृष्टिकोणबाट कार्यक्रमको महत्वलाई विश्लेषण गर्दै भने, “‘हामी आफ्नो साहित्यलाई केवल कागजमा मात्र लेख्ने होइन, हाम्रो आन्दोलनलाई साहित्यका माध्यमबाट जनताको दिमागमा पुर्याउनको लागि योजनाबद्ध तरिकाले अघि बढेका छौं ।’
कार्यक्रमका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले साहित्यकार र कविहरुको साझा जिम्मेवारी, उनीहरुको काव्यदृष्टिकोण र जनवादी दृष्टिकोणमा आधारित साहित्यले मात्र साँचो परिवर्तन र प्रगतिको दिशा पाउन सक्छ भन्ने विश्वासलाई स्थापित गर्न लाग्नुपर्ने बताए । बरालले यस कार्यक्रमले आगामी दिनमा साहित्य र समाजको सशक्त सम्बन्ध थप प्रगाढ बनाउने छ भन्ने अपेक्षा गरिएको बताए ।
अखिल नेपाल लेखक संघ सुनसरीका अध्यक्ष आलोक खनाल र इटहरी साहित्यिक समूहका सचिव जगदीश सापकोटासहित कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरुले जनवादी साहित्यको महत्व र त्यसको प्रभावलाई समाजको हरेक तप्का फैलाउन एकजुट भएर अघि बढ्न आह्वान गरे ।
अखिल नेपाल लेखक संघका केन्द्रीय सचिव एवम् प्राज्ञ खेमराज खनालले जनवादी साहित्यको सन्देश फैलाउने र समाजलाई सकारात्मक दिशा दिन प्रेरित गर्ने कार्यक्रममा बताए । उनले भने– ‘यहाँ वाचन गरिएका कविताले जनतालको आवाजलाई सशक्त रुपमा प्रस्तुत गरेको मात्र छैन, यसले सामाजिक दायित्व र संघर्षको सही मार्गदर्शन पनि प्रदान गरेको छ ।’
कार्यक्रमको सञ्चालन दिपेश कार्कीले गरेका थिए । उनले कविहरुको भावनात्मक र सृजनात्मक प्रस्तुतिहरुको सजीव प्रवाहलाई अझ प्रभावकारी बनाएका थिए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य श्रीप्रसाद (श्रीशीशा राई), इटहरी साहित्यिक समूहका सचिव जगदीश सापकोटा, नेकपा माओवादी केन्द्र इटहरी अध्यक्ष बहादुरसिंह तामाङ्ग, महिला नेतृ सिर्जना राई, पत्रकार शुशीला उप्रेती, अखिल नेपाल लेखक सघ कोशी प्रदेस सचिव कवि सुधिर केसी, किरात बान्तवा खिम केन्द्रीय अध्यक्ष ज्ञान किराँती, हंस बाहिनी फिल्मका प्रतिनिधि सन्जिव कटुवालको कार्यक्रममा उपस्थिती रहेको थियो ।