इटहरी । इटहरीमा अब तत्काल खानेपानीको समाधान गर्न पहल नगरे थप संकट निम्तिने भएको छ ।
इटहरीमा अहिले इटहरी खानेपानी उपभोक्तासँगै तरहरा, पकली र खनार खानेपानी आयोजना रहेका छन् । इटहरी खानेपानी उपभोक्ता समितिमार्फत दैनिक दुई करोड १६ लाख लिटर पानी उत्पादन गर्ने गरिएको छ । इटहरी खानेपानी उपभोक्ता समितिले हिउँदमा पाँचवटा बोरिङ् थपेर तीन हजार धारा जडान गर्ने लक्ष्य राखेको छ । यदि बोरिङ् नथपिएको अवस्थामा नयाँ घर बन्दा कुनै पनि घरमा धारा जडान गर्न सक्ने अवस्था नभएको खानेपानी उपभोक्ता समितिका व्यवस्थापक हरि कटवालले नागरिक समाज इटहरीले आयोजना गरेको सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बताए ।
इटहरीमा तरहरा खानेपानी आयोजनाले दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन गरि वितरण गर्ने गरेको छ । यस्तै, खनार खानेपानी आयोजनामार्फत दैनिक दुई लाखभन्दा बढी पानी उत्पादन गरि वितरण गर्ने गरिएको छ । पकली खानेपानी आयोजनामार्फत दैनिक १६ लाख लिटर पानी उत्पादन भएर वितरण हुने गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ५० हजार तीन सय ५० घरधुरी र एक लाख ९७ हजार २४१ जनसङ्ख्या रहेकोछ । तर, इटहरीका नौवटा बाहेक अरु वडामा भने पूर्ण रुपमा सवै घरमा खानेपानी पुगेको छैन । अहिलेसम्म २७ हजार ६० घरमा अझैसम्म धारा जडान हुन सकेको छैन ।
नागरिक समाजले चाडपर्वमा सर्वसाधारणलाई सहज बनाउने उद्देश्य राखेर गरिएको कार्यक्रममा इटहरीमा रातको मसयमा झ्यापझ्याप बिजुली जाने गरेको प्रसंगमा नेपाल विद्युत प्राधिकरण इटहरीका प्रमुख राम उदगार साहले चाडपर्वमा विद्युतमा कुनै समस्या नहुने प्रतिबद्दता जनाए ।
इटहरीमा विद्युत खनार शव स्टेशनबाट वितरण हुने गरेको छ । जसको क्षमता ५६ एमभीए हो । यसमध्ये इटहरी क्षेत्रमा गर्मी सिजनमा ४५ एमभीए विद्युत खपत हुने गरेको छ । यस क्षेत्रमा ४४ हजारले मिटर चडान गरेका छन् । यीमध्ये दुई हजार हाराहारी उद्योग र सिचाईंका लागि मिटर जडान गरिएको छ ।
नागरिक समाजले आयोजना गरेको कार्यक्रममा इटहरी उपमहानगरपालिका खाद्य निरीक्षक अनु अर्यालले सर्वसाधारणको उजुरी र नियमित आधारमा अनुगमनलाई तिब्रता दिएको बताइन् । इटहरीले आर्थिक वर्ष २०७९–८० को अवधिमा २२२ वटा अनुगमन गरेको छ । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा ४०९ वटा अनुगमन गरेको छ भने चालु आर्थिक वर्ष साउनयता एक सय ७४ वटा अनुगमन गरेको जानकारी दिइयो ।
उपभोक्ता र सर्वसाधारणका हितका लागि उद्योग वाणिज्य संघ इटहरीले पनि सरकारी नियमनकारी निकायलाई बजार अनुगमनका क्रममा सहयोग गर्ने र बेला बखत उद्योगी व्यवसायीलाईं तोकिएको भन्दा बढी मूल्यमा वस्तु तथा सामान विक्री नगर्न आग्रह गर्दै आएको छ । संघका अध्यक्ष जीवन पराजुलीका अनुसार यस वर्ष दसै, तिहार, छठलगायतका चाडपर्वको पूर्वसन्ध्यामा पनि सचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएको छ ।
चाडपर्व सुरु भएसँगै इटहरी लगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेकोमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यात्रुबाहक वसमा सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने योजना यसपटक बनाएको डिएसपी रामेश्वर त्वातीले बताए । चाडपर्वमा सवारी साधनको चाप, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअप्नाउने, तीब्र गति र मादक पदार्थ सेवनलगातका कारण दुर्घटनाका कारक हुने गर्छन् । कोशी प्रदेशभरी २०८० सालको दसैंदेखि छठसम्म ४०९ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो । यस्तै, २०७९ सालको दसैदेखि छठसम्म ४२८ वटा सवारी दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो ।
शान्ति सुरक्षाको सवालमा इटहरी क्षेत्रमा २०७९ को तुलनामा २०८० सालको दसैंदेखि तिहारसम्म बढी घटना भएकाले गर्दा यसपटक विशेष योजना बनाएर अघि बढ्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले बताए ।
इटहरी अस्पतालमा चाडपर्वको बेला उपचार गर्नका लागि दरबन्दीको चिकित्सक नहुँदा समस्या हुने गरेको अस्पतालका निम्ति प्रमुख मनिषकुमार शर्माले बताए । इटहरी अस्पतालमा अहिले चार जना विशेषज्ञ चिकित्सक रहेतापनि तिनीहरुले ओपिडीमार्फत मात्र विरामी चेकजाँच गर्ने गर्छन् । आकस्मिक रुपमा कुनै समस्या आउँदा मेडिकल अफिसरबाट अपेक्षाकृत सेवा पाउन सकिदैन् । चाडपर्वका बेला इटहरी अस्पतालमा ओपीडी सेवा पनि बन्द हुन्छ । पत्रकार अमर खड्काद्दारा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रमको सभापतित्व नागरिक समाज इटहरीका अध्यक्ष आरके राईले गरेका थिए । कार्यक्रम नागरिक समाज इटहरीका उपाध्यक्ष भोलाकाजी बस्नेतको संयोजनमा भएको थियो ।