आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता

  • कार्तिक १७, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गर्नुभयो । साथै उहाँले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पार्नुभएको थियो ।
दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गर्नुभयो । साथै उहाँले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान–प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराउनुभएको थियो । यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’सँग मेल खाने उपप्रमुख श्रीवास्तवको भनाइ थियो ।
डाबर नेपालका व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले डाबरले नेपालबाट जडीबुटी सङ्कलन गर्न आपूर्ति शृङ्खलाको विकास गर्नाको साथै स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसर प्रदान गरेको बताउनुभयो । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताउनुभयो । साथै उहाँले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराउनुभयो ।
भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धनतेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ । स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवर्द्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावासले प्रतिबद्ध रहेको जनाएको छ । बिहीबार सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधि सहभागी थिए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]