इटहरी । कृषि उत्पादन, कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिदै सुनसरीको रामधुनीमा सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषिसंग सम्वन्धीत बहुआयमिक गतिविधिहरु गर्दै आएको छ । कृषि विज्ञहरु उत्पादनका लागि प्रयोगात्मक अध्ययन र कृषि पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य सहित सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषि कलेज समेत सञ्चालनमा ल्याएको छ ।
कृषि उत्पादन बढाउने साथै रोजगारी सिर्जना गर्ने र कृषि पर्यटकहरु भित्रयाउने उद्देश्यले २०७१ सालमा स्थापित जिवीका कृषि सहकारी संस्था लिमिटेडले सुनसरीको रामधुनी नगरपालिका–६ मा वहुआयामिक कृषि फार्म, जिवीका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको हो ।
कृषि फार्म, कृषि कलेज सञ्चालन गर्दै आएको जिवीका कृषि सहकारीले २० विघा क्षेत्रफलमा गाई, बंगुर, उन्नत जाताका बाख्रा, माछा पालनसहित मेवा, ड्रागन फल, बिभिन्न जातमा तरकारी, सयपत्री फुल खेती गर्दै आएको छ । जिवीका कृषि सहकारीका उपाध्यक्ष देशबन्धु कार्कीले कृषि उत्पादनसंग राष्ट्रलाई जोड्ने, कृषि विशेषज्ञहरु तयार पार्ने, कृषि पर्यटकहरु भित्रयाउने उद्देश्यले जिवीका कृषि सहकारी सञ्चालनमा ल्याएको बताए ।
कृषि उत्पादनसंगै रोजगारी सृजना गर्ने सिप सिक्न सकिने र उत्पादनका क्षेत्रमा काम गर्न सकिने सन्देश प्रवाह गर्न समेत जिवीका कृषि सहकारी संस्थाले महत्पूर्ण भुमिका निर्वाह गर्ने संस्थाका व्यवस्थापक शिवकुमार डाँगी बताउछन् ।
नेपालकै पहिलो सहकारी संस्थाको तर्फबाट कलेज संचालनका लागि कृषि विज्ञान विश्वविद्यालयबाट २०७५ सालमा सम्वन्धन प्राप्त गर्न सफल जिवीका कृषि सहकारी संस्थाले जिवीका कृषि विज्ञान कलेज समेत सञ्चालन गर्दै आएको छ । कलेज सञ्चालन भइरहेको र होस्टल समेत बनाइएको भएपनि विश्वविद्यालयको कमजोर नीतिले गर्दा गत शैक्षिक सत्रमा विद्यार्थी भर्ना नभएको जिवीका कृषि विज्ञान कलेजका अध्यक्ष नवराज चापागाँईले गुनासो गरे । उनले कृषि उत्पादन वढाउने तथा कृषि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न राज्यले कृषि क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
कृषि उत्पादन, कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिदै आएको जिवीका कृषि सहकारी संस्थाले हाल सम्म ११ करोड लगानीमा कृषि फार्म लगायत भौतिक संरचना समेत तयार पारेर उत्पादन, शिक्षा र सिप सिकाउने काम गर्दै आएको छ । कृषि उत्पादन वृद्धिका लागि सिपयुक्त कृषिमा जोड दिदै सिटिइभिटीबाट जिवीका फार्मर स्कुल समेत सञ्चालन गर्दै आएको छ ।