विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

  • आश्विन ९, २०८० / नेपाल रेखा
alt

भोजपुर । केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो ।
विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन् ।
विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिनुभयो । विद्युत् विस्तारसँगै स–साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उहाँको भनाइ छ ।
“विद्युत् विस्तारले हाम्रो गाउँमा सहजता थपिएको छ”, उहाँले भन्नुभयो, “विगतमा धान, मकै, कोदोलगायतका अन्नबाली पिस्नलाई पाँच–छ घण्टासम्म बोकेर लैजानुपर्ने अवस्था थियो । कहिले त दिन नै बित्थ्यो । विद्युत् विस्तार भएपछि टोल–टोलमा मिल सञ्चालन भइरहेका छन् ।”
विद्युत् विस्तार भएपछि विदेशबाट आएर मिल स्थापना गरेर व्यवसाय गर्दै आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय एकराज विष्टले बताउनुभयो । गाउँमा सञ्चालन गरिरहेको मिलमा कुटानी, पिसानीको काम गर्दै आएको उहाँको भनाइ छ । मिलबाट आफूसमेत स्वरोजगार बनेको उहाँले बताउनुभयो ।
“लामो समय विदेशमा बसेँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा फर्केर विद्युतीय मिल लगाएको छु । यसले स्थानीयलाई कुटानी–पिसानीका लागि सहजता छ । मिलबाट आफू स्वरोजगार बनेको छु । घर खर्च चलाउने आम्दानी पनि हुन्छ ।”
ठूलो भूगोलसँगै भौगोलिकरूपमा विकट रहेको यो गाउँपालिकाको सबै क्षेत्रमा तीन वर्षअघिबाट विद्युत् बलेको हो । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जनता विद्युत्को पहुँचमा छन् ।
यहाँका नौवटै वडाहरूमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् बलेको छ । जङ्गलको बीचमा रहेको यो बस्तीका मानिस नेट, इन्टरनेटमार्फत सूचनाको पहुँचमा रहेका छन् ।
वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकी सहज बनेको बताउनुभयो । “दुर्गम क्षेत्रमा पर्ने हाम्रो गाउँमा झलमल्ल विद्युत् बलेको छ”, उहाँले भन्नुभयो, “अहिले जीवनयापनका लागि सहज छ । अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”
विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासीमा सूचनाको पहुँचसँगै जीवनयापनमा समेत परिवर्तन आएको स्थानीय नवीन राईले बताउनुभयो । विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको उहाँको भनाइ छ ।
“विद्युत् विकासको एउटा सूचक पनि हो”, उहाँले भन्नुभयो, “अहिले हाम्रोजस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । हामीलाई सूचनाको पहुँचमा जोडिन सहज छ । बालबालिकाले विद्युत्को उज्यालोमा पठनपाठन गर्न पाएका छन् ।”
यो गाउँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने हुन्छ । “भौगोलिक हिसाबले यो निकै दुर्गम छ”, उहाँले भन्नुभयो, “हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । अहिले विकासको अनुभूति गर्न पाएका छौँ ।”
वर्षौँदेखि अँध्यारोमा बस्दै आएका वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरूले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेका छन् । विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको स्थानीय फुर्तेन्जी शेर्पाले बताउनुभयो ।
विद्युत् विस्तारको काम पूरा भएकाले अब यहाँको अन्य भौतिक विकासका क्षेत्रमा काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सडक विस्तारसँगै गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।
“हाम्रो गाउँपालिकामा पूर्णरूपमा विद्युतीकरण भइसकेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “हामीले अब यहाँका अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा काम गरिरहेका छौँ । टेम्केमैयुङलाई समृद्ध बनाउने हाम्रो लक्ष्य छ ।” टेम्केमैयुङलाई २०७७ सालको कात्तिक महिनामा उज्यालो गाउँपालिका घोषणा गरिएको हो ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]