नगरसभा नहुँदा कुश्मामा राजस्वमा असर

  • साउन ४, २०८० / नेपाल रेखा
alt

कुश्मा । जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व सङ्कलन ठप्प बनेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व सङ्कलन रोकिएको हो ।
नगरसभाले आगामी आर्थिक वर्षका लागि राजस्वको दररेट निर्धारण गरी पारित गर्नुपर्ने भए पनि नगरसभा नै हुन नसकेपछि यही साउन १ गतेदेखि नै कुनै पनि कर सङ्कलन नभएको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिनुभयो ।
कर सङ्कलन नहुँदा घर जग्गाको तिरो तिर्ने, नक्सा पास, सिफारिसलगायतका काम रोकिएका छन् भने नागरिकतालगायतका वडा तहबाट हुने सिफारिस मात्र भएका छन् । साउन १ गतेदेखि सबै सेवा विनारसिद प्रदान गरिएको कुश्मा –१२ ठूलीपोखरीका वडाध्यक्ष झलक रिमालले जानकारी दिनुभयो । नागरिकता, घटना दर्ता, नाता प्रमाणितलगायतका सिफारिस निःशुल्क गरिएको भए पनि करसम्बन्धी सेवा भने ठप्प छन् ।
गत असार १० गतेभित्रै नगरसभा गर्नुपर्ने र त्यसबाट आगामी आर्थिक वर्षका लागि राजस्व सङ्कलनसम्बन्धी आर्थिक विधेयक पारित गर्नुपर्ने भए पनि कुश्मा नगरपालिकामा नगरसभा नभएका कारण राजस्व सङ्कलनको काम ठप्प भएको नगरपालिका राजस्व शाखाका कर्मचारी विक्रम चापागाईंले जानकारी दिनुभयो ।
राजस्व सङ्कलन हुन नसक्दा घर जग्गाको नाक्सा पास, सिफारिस दस्तुर, व्यापारिक कर, व्यक्तिगत घटना दर्ता, बहाल कर, पटके व्यवसाय कर, एकीकृत सम्पत्ति कर आदि सेवा लिएर नगरपालिका जानेहरु रित्तो हात फर्किन बाध्य भएका छन् ।
फलेवास नगरपालिकामा भने पुरानै दररेटअनुसार राजस्व सङ्कलन गरिएको छ । नगरप्रमुख गङ्गाधर तिवारीले सूचना जारी गर्दै नगरसभा सम्पन्न नभए पनि गत आर्थिक वर्षको आर्थिक ऐनबमोजिम कर सङ्कलन गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष ०८०–८१ का लागि आयव्ययको अनुमान, राजस्व सङ्कलनसम्बन्धी आर्थिक विधेयक गर्नुपर्ने भए पनि नगरसभा हुन नसकेकाले पुरानै दररेटअनुसार सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले नगर प्रमुखले सूचना जारी गरेर सङ्कलन गर्न आग्रह गरेको जनाउँदै आफू उक्त विषयमा अनविज्ञ रहेको बताउनुभयो । आर्थिक वर्ष २०८०–८१ को सुरुआत भइसके पनि पर्वत जिल्लाका दुई पालिकाले अझै पनि नगरसभा गर्न नसकेका हुन् । कुश्मा र फलेवास नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुआत भइसक्दा पनि नगरसभा सम्पन्न गर्न सकेका छैनन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ ले प्रत्येक असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरिसक्नुपर्ने प्रावधान राखेको छ । यसरी पेस भएको बजेट, नीति तथा कार्यक्रमलाई १५ दिनभित्र नगरसभाले छलफलसहित पास गर्नुपर्ने हुन्छ । पेस भएको नीति तथा कार्यक्रम र बजेटउपर परिमार्जन गर्नुपरेमा नगरसभाले कार्यपालिकामा पुनः पठाउँछ ।
कार्यपालिकाले त्यसरी नगरसभाबाट आएको नीति तथा कार्यक्रमलाई परिमार्जन गरी १५ दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । समयमा नगरसभा नगर्दा पालिकाको कार्यसम्पादन मूल्याङ्कनको अङ्क घटेको छ ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा १३ ले न्यूनतम दररेट निर्धारणको विषय उल्लेख गरेको छ । उक्त दफामा आर्थिक वर्ष सुरु हुने १५ दिनअगावै दररेट निर्धारण गर्नुपर्ने प्रावधान छ । ऐनको दफा ५५ मा उल्लेख गरिएको एकीकृत सम्पत्ति कर र घरजग्गा कर प्रत्येक आर्थिक मसान्तपूर्व नै निर्धारण गर्नुपर्ने थियो, तर पालिकाहरुले यसो गर्न सकेका छैनन् ।
अधिवक्ता भोलानाथ शर्माले एक आर्थिक वर्षका लागि ल्याएको बजेट अर्को आवका लागि लागू नहुने दाबी गर्नुभयो । कर निर्धारणदेखि बजेटका सबै कामको औचित्य आर्थिक वर्षको अन्त्यसँगै सकिएका कारण नगरसभा नहुँदा कर सङ्कलन कार्य रोकिनुपर्ने बताउनुहुन्छ । कुस्मा नगर प्रमुख रामचन्द्र जोशीले भने पूर्ववतः करका दरकै आधारमा कर सङ्कलन गर्न सकिने बताउनुभयो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]