इटहरी । इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन उर्दी जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो ।
सुरुमा इटहरी स्थित टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना सार्वजनिक गरेका छन् । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाई छ ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६–६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्वयम् हटाउन सुचना जारी गरेका हुन् ।
इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।
सार्वजनिक जमिन संरक्षण पनि आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै मेयर पौडेलले सार्वजनिक जग्गा संरक्षणमा आफुले कुनै कसर बाँकि नराख्ने प्रतिक्रिया दिए ।