चार महिना श्रमदान गरेपछि रामनगरमा खानेपानी

  • असार ५, २०८० / नेपाल रेखा
alt

भरतपुर । चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका–२९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए ।
भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गर्नुभएको थियो । उहाँले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ ।
आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताउनुभयो । उहाँले नियमितरूपमा श्रमदानमा खटिएको समेत बताउनुभयो । स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताउनुभयो । उहाँले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताउनुभयो ।
विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो ।
रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताउनुभयो । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उहाँको भनाइ छ । त्यतिखेर जाइकाले निर्माण गरेकै ट्याङ्कीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीयसचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो । “भुइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो । त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो”, उहाँले भन्नुभयो, “मुहान र बीचको ट्याङ्की प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ ।” रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करिब चार हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करिब दुई हजार पाँच सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “वडा नं १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ ।” यसले भरतपुर महानगरपालिकाभित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उहाँले बताउनुभयो ।
श्रमदानबाट खानेपानी ल्याउन करिब रु एक करोड खर्च भएको जनाइएको छ । आठ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्याङ्क्ी मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब रु एक करोड खर्च भएको उहाँले बताउनुभयो । “यी सबै खर्च जनस्तरबाटै सङ्कलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँका जनताले आफैँ खुसी भएर सहयोग गरेका छन् ।”

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]