राजन केडी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको सहयोग र इन्खा एकीकृत अस्पतालको आयोजनामा इटहरी वडा नम्बर–१४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
बिहीवार आयोजना गरिएको शिविरमा होमियोप्याथिक सेवा, भिडियो एक्सरे र किड्नी जाँच सहितको सेवा दिइएको थियो । सो शिबिरमा २ सय ८४ जना स्थानीयवासीले सेवा लिएको इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । शिविर सफल बनाउन १४ नं. वडाका जनप्रतिनिधि, स्थानीय समाजसेबी भूमिनारायण चौधरी, प्रेमचन्द्र रौतार, राम सेबक चौधरी, सक्रियता रहेको थियो ।
यस्तै, गर्मीकाकारण जनजीवन प्रभावित बनिरहेको समयमा सुनसरीको इटहरीमा सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण गर्नुका साथै स्वास्थ्य परिक्षण पनि गरिएको छ ।
इटहरी उपमहानगरपालिका नजिकै पुर्वेली क्लब इटहरी र पुर्वेली समाज इटहरीले पानी पिउने व्यवस्था मिलाएको छ । साथै इन्खा एकीकृत अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ । गर्मीको समयमा मानिसहरुमा विभिन्न खाले स्वास्थ्य समस्या हुनेतर्फ मध्यनजर गर्दै स्वास्थ्य परिक्षण सहित स्वास्थ्य परामर्श सेवा निःशुल्क रुपमा उपलव्ध गराएको ओलीले जानकारी दिए ।
गर्मीका कारण मानिसहरु अत्यावश्यक काम बाहेक बाहिर निस्कन छोडेपनि वाध्यताले निस्कने मानिसहरुलाई सहज रुपमा चिसो पानीको व्यवस्था मिलाएर सर्वसाधारणका लागि सहज बनाउन पुर्वेली क्लवका अध्यक्ष झलक वन र पुर्वेली समाजका अध्यक्ष राजेश भण्डारी लगायतका अभियान्ताहरुले पानीको ब्यवस्था मिलाएका हुन् ।