विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्रीवितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ ।
महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । तालिममा विज्ञ डा. गंगाराम यादव, डा. बोधप्रसाद पराजुली, डा. मनिषकुमार साह, डा. सराहना सुवेदी, शुभनारायण यादव र गणेश पौडेलले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई स्वच्छ मासु उत्पादनदेखि बिक्रीवितरण तथा विभिन्न रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिएका थिए ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मासु व्यवसायलाई व्यवस्थित बनाउन महानगरपालिका लागिपरेको बताए । उनले पशु वधशाला निर्माणका लागि पनि पहल भइरहेको जानकारी दिए । महानगरको सीमित बजेटले मात्रै वधशाला निर्माण गर्न गाह्रो पर्ने भएकाले संघीय र प्रदेश सरकारसित सहकार्य गरेर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाए । विराटनगर–१९ का वडाध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगर क्षेत्रभित्रका सबै माछामासु व्यवसायीहरुलाई प्रशिक्षित गर्ने बताए । महानगरको सफाई अभियानलाई प्रभावकारी बनाउन पनि वधशाला निर्माण जरुरी रहेको उनले औंल्याए ।
त्यस्तै सहभागीहरुका तर्फबाट मासु व्यवसायी संघ विराटनगरका अध्यक्ष सुभाषचन्द्र सिवाकोटीले महानगका विभिन्न चार स्थानमा व्यवस्थित माछामासु बजार बनाउन आफूहरु तयार रहेको बताए । उनले महानगर र व्यवसायी मिलेर वधशाला निर्माण गर्न सकिने प्रस्ट पारे । अर्का व्यवसायी टंकप्रसाद गौतमले व्यवसायीलाई तालिम दिएर महानगरले राम्रो कार्य गरेको भन्दै खुसी व्यक्त गरे । तालिममा सहभागीहरुलाई मेयर नागेश कोइराला र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए ।