झापा । पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।
सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो ।
सीमानाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उहाँको भनाइ छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् ।
पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा १८ लाखको लागतमा २३ वटा सिसी क्यामेरा बजारको महत्वपूर्ण स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्षअघि नै कि त बिग्रिए, कि त तस्करले फुटाइदिए ।
“पूर्वीनाका अत्यन्त महत्वपूर्ण र संवेदनशील भएका कारण यहाँ हरेक गौडा–गौडामा सिसी क्यामेराको आवश्यकता छ”, उहाँले भन्नुभयो, “पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६ क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।”
अहिले जडान गरिएका सबै सिसी क्यामेराको कन्ट्रोलरुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण सङ्घीय सरकारसँग थप बजेट मागेर सहरमा सिसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ।
प्रहरी नायब उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरूले आफ्नै पहलमा सिसी क्यामेरा जडान गर्नसके र बैंक तथा वित्तीय संस्थाले बजार र सडकमा सार्वजनिक सिसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियन्त्रण र अपराधीको पहिचानमा सहजता हुने बताउनुभयो ।
मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सिसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं ६ मा रहेको काँकडभिट्टा पूर्वीनाका हो भने वडा नं १० को धुलाबारी, वडा नं ७ को इटाभट्टा र वडा नं १३ को चारआली पूर्वपश्चिम राजमार्गमा रहेका ठूला सहर हुन् । यी चारवटै सहरको अधिकांश स्थानमा कि त सिसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेका छन् ।
दुई वर्षअघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सिसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्क्याइएको कन्ट्रोलरुममा राखिएको टिभी स्क्रिनमा माकुराले जालो लगाएको छ ।
धुलाबारी, इटाभट्टा र चारआली बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं ९ र १० ले सिसी क्यामेरा जडानका लागि बजेट छुट्याएका छन् । तर जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन ।
सहर र सडकमा जडान गरिएका सिसी क्यामेराको नियमित हेरचाह र मर्मतसम्भार नहुँदा समस्या भएको धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेत बताउनुहुन्छ । नगरपालिका, वडा कार्यालय, वाणिज्य सङ्घहरू र बजार व्यवस्थापन समिति मिलेर सहरलाई प्रविधियुक्त सुरक्षित सहर बनाउन सकिने उहाँले बताउनुभयो ।
उहाँले स्थानीय बैंक तथा वित्तीय संस्था र ठूला उद्योगीले आफ्ना लागि जडान गरिएका सिसी क्यामेरामध्ये केही थान सार्वजनिक हितका लागि सडकतिर लक्षित गराउनुपर्ने सुझाव दिनुभएको छ । ठूला बैंकले जडान गरेका सिसी क्यामेरा आफ्नो निजी ढोका र कोठाभित्र मात्र सीमित तुल्याउने गरेका उहाँको दाबी छ । पूर्वीनाका अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले समेत संवेदनशील भएकाले राज्यले सडक, बजार र सीमावर्ती चोकमा शक्तिशाली सिसी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।