बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुग्नुभयो । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आउनुभएको छ।
छन्त्यालले यस पटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रममार्फत आफूलाई केही राहत भएको बताउनुभयो । कार्यक्रमअन्तर्गत आफैँ उपभोक्ता समितिको अध्यक्ष भएर उहाँ वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थाल्नुभएको छ ।
“छोराछोरी पाल्न मुस्किल, खेती किसानीबाट घर खर्च चलाउन धौ–धौ, कार्यक्रम मार्फत एकल महिला मिलेर तीन स्थानमा पदमार्ग बनाइयो”, छन्त्यालले भन्नुभयो, “एक जना एकल महिलाको हातमा यस पटक छ हजार प¥यो दुई महिनाको घर खर्च ट¥यो, प्लाष्टिक टनेलसमेत अनुदानमा दिएको छ ।”
चालु आर्थिक वर्षमा कार्यक्रममा विनियोजित एक लाख बजेटबाट सय मिटर पदमार्गमा ढुङ्गा छपाइएको छ । वडाका एकल महिलाले आफँै ढुङ्गा बोकेर नर्जाखानी, पात्ले र भित्रिवनमा पदमार्ग मर्मत गरेका हुन् ।
एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आवमा उक्त कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।
वडाध्यक्ष छन्त्यालका अनुसार नर्जाखानी, पात्ले र भित्रिवन गरी तीन वटा टोलमा छुट्टाछुट्टै पदमार्ग मर्मत तथा ढुङ्गा बिच्छाउने कार्य गरिएको हो । “घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रीय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रममार्फत यस वर्ष १९ जनालाई रोजगारी दिइएको छ, उनीहरुले आफ्नै टोलमा पदमार्ग बनाएका छन्”, छन्त्यालले भन्नुभयो ।
अहिले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत, पदमार्ग निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । वडा कार्यालयले वडाको योजनाका लागि विनियोजित बजेटबाट निर्माण सामग्री खरिद गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गराउँदा योजना प्रभावकारी बन्दै गएको छ ।