इटहरी । कुनै पनि मानिसले सहि प्रयोगात्मक प्रयोगको अवसर पायो भने शिप, सोंच र ज्ञानले उसलाई तिखार्छ भन्ने भनाईं छ । यस भनाईं सुनसरी रामधुनी वडा नं. ६ मा सञ्चालित आदर्श माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत छात्र सञ्जय राजधामीले छोटै अवधिमा प्रमाणित गरेका छन् ।
विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाइ व्याख्यान भन्दा कैयौं गुणा बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले पनि प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । यद्यपी, सही रुपमा भने कार्यान्वयन हुन सकेको छैन ।
केही सीमित सामुदायिक विद्यालयले प्रयोगात्मक विधिलाईं पछ्याउँदै आएका छन् । ‘प्लान इन्टरनेशनल नेपालको सहयोगमा अहिले विद्यालयमा स्टिम मेकर स्पेश ल्याब स्थापना भएपछि फूर्सदको समयमा नयाँ–नयाँ ज्ञान सिकेर बिताउन सहज भएको छ,’ राजधामीले भने । उनका अनुसार स्टिम ल्याब विद्यालयमा चैत १३ गतेबाट सुरु भएको थियो । त्यतिबेला परीक्षाको चटारो भएकाले गर्दा विद्यार्थी पुरै ध्यान परीक्षामा केन्द्रित भयो । यतिबेला नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसकेको छ ।
अहिले नयाँ शैक्षिक सत्र सुरुवात भएसँगै विद्यार्थी प्रयोगात्मक कार्य लगेर ल्याबमै विताउने गर्छन् । ‘अहिले सुरुवातमा विद्यार्थीको भर्ना अभियान चलिरहेको छ, पढाई नियमित सुचारु भइ सकेको छैन,’ कक्षा १० कै छात्र अनुप महताराले भने, ‘जे होस् नयाँ–नयाँ मेसिन प्रयोग गर्न सिक्दा हरेक काम सहज पार गर्न सकिने ज्ञान प्राप्त गरि सक्यो ।’
स्टिम ल्याबमा कक्षा ९ की छात्रा विनिता कार्की तिहारको बेला झिलीमिली विजुलीको वत्ती बालेर उज्यालो परिने गरेकोमा त्यसको हुबाहु नक्कल गरेर विजुलीबाट वत्ती बाल्ने अभ्यास गरिरहेकी थिइन् । उनले भनिन, ‘ल्याब हाम्रा लागि रमाएर सिक्ने थलो भएको छ ।’
यसरी ल्याबमा बसेर नयाँ–नयाँ ज्ञान सिक्दा थप नयाँ आइडिया सिर्जना हुँदा त सिक्ने बढो मज्जा आउने गरेको अनुभव पनि कक्षा ९ कै आशिका राजधामीको छ । ‘ल्याबमा गएर सिक्न पाउँदा त समय गएको पत्तै हुँदैन्,’ उनले भनिन् ।
परम्परागत ढंगले शिक्षण गर्दा विद्यार्थीलाई पक्कै पनि दिक्क लाग्दो हुने गर्छ । विद्यार्थीले पढ्न पर्ने कुरालाई केही नौलो तरिका र चाखलाग्दो गरि प्रयोगात्मक ढंगले गर्दा रमाइलो सिकाईसँगै टीमवर्क पनि निर्माण हुन्छ । विद्यार्थीहरुलाई धेरै विषय एकीकृत ढंगले एकआपसमा सम्बन्ध बुझेर पढ्नका लागि फाइदा पुग्ने कक्षा ९ मै अध्ययनरत करुण चौधरीले बताइन् ।
विद्यार्थीका लागि सिकाउन कला महत्वपूर्ण हुन्छ । सिर्जनात्मक ढंगले सिकाउनका लागि स्टिम ल्याबले सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक रविन्द्र पौडेलले बताए । ‘एउटा मात्र विषयलाई फोकस नगरि धेरै विषयलाई एकैपटक एकआपसमा सम्बन्ध बुझेर सिक्ने अवसर भएको छ,’ पौडेलले भने, ‘नयाँ पाठ्यक्रम कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागू भएकाले गर्दा पनि त्यही ढंगले विषयवस्तुलाई अघि बढाउन पक्कै सहज भएको छ ।’ एकीकृत पाठ्यक्रमले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स (स्टिम एप्रोज इन एजुकेशन) जस्ता छुटाछुटै नभई एकीकृत एक आपसमा सम्बन्ध बुझेर शिक्षणमा जोड दिएको छ ।
स्टिम मेकर स्पेस ल्याब ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा पाँच लाख रुपैयाँ खर्चेर स्टिम मेकर स्पेस ल्याब सञ्चालनमा ल्याएको छ । ल्याब सञ्चालनका लागि काराखाना संस्था काठमाडौंबाट सामान खरीद गरि त्यहाँबाटै आएका प्राविधिक टोलीले दुई दिनसम्म विद्यार्थी र शिक्षकलाई स्टिम शिक्षासम्बन्धीसँगै मेकर किटमा रहेका सामान प्रयोग गर्ने तरिका सिकाएको आरएसडिसी संस्था कार्यक्रम संयोजक शिखाकिरणले बताइन् । उनका अनुसार अहिलेको शिक्षा भनेको परम्परागत पठनपाठनको अन्त्य सामूहिक सिकाई, प्रविधि र नवीनतम सोचको विकास गरि विद्यार्थीको व्यवहारात्मक सीप निर्माण हु्न्छ । ‘जसले गर्दा विद्यार्थीहरुलाईं अनुसन्धान गर्दै मनोरञ्जनात्मक ढंगले सिकाउन मेकर स्पेश ल्याबले पक्कै सहज भएको महसुस गरिएको छ,’ उनले भनिन् ।
विद्यार्थीमा नयाँ परियोजनाहरूको सिर्जना र नयाँ कुरा आविष्कार गरेर रुचि जगाउने काम स्टिम ल्याबबाट भएको छ। शिक्षण सिकाइ बाध्यात्मक नभई विद्यार्थीहरुको रुचि, इच्छा, चाहाना र क्षमताका आधारमा आफै गरेर नयाँ कुरा सिक्न पाउने भएकाले नतिजामा पनि सुधार आउने लक्ष्यण देखिएको छ ।