विराटनगर । विराटनगर महानगरपालिकाले अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ। मंगलबार दातृ निकायका प्रतिनिधिसहितको छलफलमा कार्यबाहक मेयर सन्तोष न्यौपानेले विगतदेखि सञ्चालित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । विगत तीन वर्षदेखि विराटनगर महानगरपालिका क्षेत्रभित्र अपांगता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेनको त्रिपक्षीय सम्झौताअनुसार तीन वर्षे कार्यक्रम महानगर क्षेत्रभित्र सञ्चालन भइरहेको हो । सम्झौताअनुसार तीनवटै निकायले ३३÷३३ प्रतिशत बजेटको व्यवस्था गरेका छन् । तर करुणा फाउण्डेशनले यस वर्षदेखि कार्यक्रमबाट हात झिक्ने भएको छ । करुणा फाउण्डेशनको दातृ निकाय नेदरल्याण्ड फाउण्डेशन र बंगलादेशको फ्रेन्ससिप फाउण्डेसनका प्रतिनिधिसहितको उपस्थितिमा भएको छलफलमा महानगरका तर्फबाट कार्यबाहक मेयर न्यौपानेले अपांगता रोकथाम तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरे । उनले महानगरको सीमित बजेटले धेरै क्षेत्र समेट्नुपर्ने भए पनि अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन तयार रहेको बताए । महानगर र प्रदेश सरकार मिलेर भए पनि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, अन्तर्राष्ट्रिय सम्पर्क अधिकृत रत्नाकर झालगायतले महानगरभित्र अपांगता भएका व्यक्तिहरुको अवस्था र उनीहरुका लागि महानगरका तर्फबाट प्रवाह भइरहेको सेवालगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा दातृ निकायका प्रतिनिधिहरुले महानगरभित्र अपांगता भएका व्यक्तिहरुको अवस्था, उनीहरुले पाउने सेवा, आगामी दिनमा गर्नुपर्ने सहयोगलगायतका विषयमा जिज्ञासा राखेका थिए । यसअघि सोमबार दातृ निकायका टोलीसित मेयर नागेश कोइरालाले अपांगता रोकथाम र पुनःस्थापनाका लागि प्राविधिक सहयोग गर्न आग्रह गरेका थिए ।