भोजपुर । यहाँको उत्तरी क्षेत्र दिङ्लामा रहेको इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने लक्ष्यले स्थापना भएको कार्यालय दुई महिना बढी समयदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको हो ।
जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, पासपोर्टलगायतका सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा सेवा बन्द भए पनि स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य भएका छन् । प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन् ।
माघ पहिलो साता कार्यलयका शाखाका प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । इलाका प्रशासन कार्यालयबाट सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका स्थानीय विवेक राईले बताउनुभयो । नागरिकता लिनका लागि सदरमुकामसम्म जाँदा समय र पैसा धेरै खर्च हुने उहाँको भनाइ छ ।
“इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह नहुँदा हामीलाई सास्ती छ”, उहाँले भन्नुभयो, “दुर्गम भेग भएकाले यहाँबाट सदरमुकाम पुगेर फर्कन चार दिनसम्म लाग्छ । एउटा नागरिकता लिन जाँदा कम्तीमा पनि एक जना बराबार रु १५ हजार बढी खर्च हुन्छ । चाँडो सेवा सुरु भए हामीलाई राहत हुने थियो ।”
जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा यातायात सहज पहुँच छैन । यहाँका नागरिकलाई जिल्लासम्म आउनका लागि सवारीसाधन नै रिजर्भ गर्नुपर्ने अवस्था छ । सवारीसाधन पनि हिउँदको समयमा मात्र चल्ने अवस्था रहेको स्थानीय दिलीप राईले बताउनुभयो । सवारीसाधन रिजर्भ गर्दा धेरै खर्च हुने उहाँको भनाइ छ । “हामीलाई सेवा लिन नै कठिन छ”, उहाँले भन्नुभयो, “यहाँका अधिकांश भेगमा नियमित सवारीसाधन चल्दैन । दिङ्लामा सेवा लिन जाँदा केही सहज थियो । तर सदरमुकामसम्म पुग्न अति नै कठिन छ ।”
इलाका प्रशासनमा प्रमुख नहँुदा दुई महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताउनुभयो । “कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहसँगै तलब लिन नै समस्या भएको छ”, उहाँले भन्नुभयो, “आठ जनाको दरबन्दी छ । तर अहिले चार जनाले कार्यालय धान्नुपर्ने अवस्था छ । प्रमुख नहुँदा प्रशासनिक काममा समेत असर पुगेको छ ।”
इलाका प्रमुख नहँुदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताउनुभयो । यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उहाँको भनाइ छ । “कार्यालय प्रमुखविहीन बन्दा स्थानीयलाई समस्या छ”, प्रमुख उदासले भन्नुभयो, “नागरिकता लिन स्थानीयलाई धेरै समस्या छ । यहाँको समस्या समाधानका लागि नगरले सरोकारवाला पक्षसँग पहल गरिरहेको छ ।”
इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रबाहमा समस्या भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । त्यहाँका प्रमुख सरुवा भएपछि दुर्गम क्षेत्र भएको कारण कर्मचारी आउन नमान्ने भएको कारण कार्यालय प्रमुखविहीन बनेको उहाँको भनाइ छ । नागरिकलाई सहज सेवा प्रवाहका लागि आफ्नो क्षेत्रबाट काम गरिरहेको समेत उहाँले बताउनुभयो ।
“प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या छ”, प्रजिअ घिमिरेले भन्नुभयो, “जिल्लामा नै कर्मचारीको अभाव छ । पहाडी क्षत्रको दुर्गम भेगमा कर्मचारी आउन मान्दैनन् । मैले मन्त्रालयसँग कर्मचारीको समस्याका बारेमा कुरा राखेको छु ।” यहाँका दुर्गम भेगका नागरिकलाई भने भौगोलिक विकटताका कारण नागरिकता पाउनै निकै समस्या हुने गरेको छ । भौगोलिकरूपमा भोजपुर सदरमुकाम टाढा भएकाले अन्य व्यपारिक कामका लागि भने उत्तरी क्षेत्रका नागरिक सङ्खुवासभा जाने गरेका छन् ।