विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ ।
विश्वभरि प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै दक्ष जन शक्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो प्राविधिक विश्वबिद्यालयले देशमै पहिलो पल्ट उच्च शिक्षामा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको हो ।
नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउनलागि नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठयक्रम निर्माण भैरहेको विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए । उनकाअनुसार पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र त्यसपछि क्रमश मास्टर्स तहको कक्षा सञ्चालन गर्ने तयारी भैसेकेको छ । ‘प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढ्दो रहेको तर सोहीअनुसार दक्षज नशक्तिको चरम अभाव भएकोले देशमै पहिलोपल्ट उच्च शिक्षाको पढाई मनमोहनले सुरु गर्नलागेको हा’ै, उपकुलपति पोखरेलले भने ।
मनमोहन विश्वविद्यालयका कुलपछि तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समयसापेक्ष रहेकोले आफुले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिइसकेको बताए । उनले रोग लागेर उपचारकालागि अस्पताल गएर जिवनभरि कष्टले कमाएको धनखर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु उत्तम उपाय भएकोले प्राकृतिक स्वास्थयबारे विश्वविद्यालय तहमा पठनपाठन हुनु अति नै आवश्यक भएको बताए । कुलपति तथा मुख्यमन्त्री कार्कीले भने, ‘शौचालय, खानेपानी र वातावरण र अहारविहार स्वास्थ्य बनाउने उपाय मात्र हामीले अवलम्बन गर्यौ भने धेरै रोगहरुबाट बच्न सक्छौ यसैले प्राकृतिक स्वास्थ्य शिक्षा अति नै सान्र्दभिक छ ।’,
कोसी प्रदेशका पूर्व समाजिक विकास मन्त्री जिवन घिमिरेले आफुहरुले प्रदेशका सबै बिद्यालयमा योग शिक्षा लागू गर्न खोजे पनि दक्षजन शक्तिको अभावले गर्दा संभव नभएको बताए । उनकाअनुसार उच्चशिक्षा पढेका प्राकृतिक चिकित्साका दक्ष जन शक्ति उत्पादन गर्न सकेमा नेपालमा मात्र नभै विश्व बजारमा पनि खपत गर्न सकिने दाबी गरे ।
प्राकृतिक स्वास्थ्य विज्ञ डा. जनक बस्नेतले दक्ष जन शक्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरुले दक्ष जन शक्तिको चरम अभाव झेल्नु परिरहेको बताए । उनकाअनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्य जन शक्तिहरु ल्याउन बाध्य भैरहनु परेको छ । अर्कोतिर प्राकृतिक स्वास्थ्य शिक्षा पढ्न चाहनेहरुले भारत जान बाध्य भैरहनुपरेको छ । काठमाण्डौमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा. बस्नेतका अनुसार भारतमा ४० भन्दा बढि शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाई भैरहेपनि नेपालमा विश्वविद्यालय तहमा अझैसम्म पठनपाठन सुरु हुन सकेको छैन । उनले प्राकृतिक स्वास्थ्य शिक्षाका लागि उत्पादन भएका जन शत्तिःलाई बजार अभाव नभएको र माग पनि उच्च भएकोले रोजगारको चिन्ता नभएको दाबी गरे । उनले योग तथा प्राकृतिक शिक्षाबारे पाठयक्रम निर्माण गर्न लागेकोमा मनमोहनलाई धन्यबाद पनि दिए । उनकाअनुसार प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसहरुलाई बढ्दो मानसिक समस्याबाट जोगाउन र आत्महत्या गर्नुपर्ने बाध्यताबाट जोगाउन पनि सहयोग गर्दछ । डा. बस्नेतले भने,‘अबको युग नेचुरल युग हो यसैले चाँडै पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न सके मनमोहन देशकै पहिलो प्राकृतिकचिकित्साको पठनपाठन गराउने पहिलो विश्वविद्यालय हुनेछ ।’
डाक्टर बस्नेतका अनुसार प्राकृतिक चिकित्साभित्र योग र उपचार मात्र नभएर विभिन्न नौ वटा दर्शनहरु पर्दछन् । प्राकृतिक चिकित्साऔषधि रहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँचबर्षे पाठयक्रम आवश्यक पर्दछ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोसी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङतर्फ स्नातक तहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकलतर्फ विभिन्न बिषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनकालागि पाठयक्रम निर्माण भैसकेको छ । साथै आगामी सत्रदेखी फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भैसकेको छ ।