वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले

  • फागुन २६, २०७९ / नेपाल रेखा
alt

ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् ।
सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो–“पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ ।”
फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पनि अलैँचीका बोट सुक्न थालेका बताएका छन् । खोला तथा खोल्साको पानी अलैँची बगानमा लगाए पनि अलैँचीखेतीलाई पर्याप्त नभएको उनीहरूले बताएका छन् । लामो समय खडेरी परेकाले अलैँचीमा रोग कीराको समेत प्रकोप बढ्ने अलैँची व्यवसायी बालमणि बरालले बताउनुभयो । रोग कीराले सिँचाइको अभावमा कमजोर बनेका बोटलाई सजिलै आक्रमण गर्ने र यसबाट क्षति पुग्ने उहाँको भनाइ छ ।
ताप्लेजुङमा करिब तीन हजार सात सय हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुने गरेको छ । केही दिनअघि फाट्टफुट्ट वर्षा भए पनि अलैँचीका लागि पर्याप्त नभएको किसानले बताएका छन् । लामो समयपछि फाट्टफुट्ट वर्षा भएर पुनः चर्को घाम लाग्दा अलैँचीलाई झन् असर हुने गरेको उनीहरूले बताए । खडेरीले बोट नै सुकेपछि अलैँची उत्पादन घट्ने भएकाले किसान चिन्तामा छन् । भनेजस्तो मूल्य नपाइरहेका बेला उत्पादनसमेत घटेमा समस्या हुने सिरीजङ्घाका किसान लक्ष्मण अधिकारीले बताउनुभयो।
“पछिल्लो समय भनेजस्तो मूल्य छैन, अलैँची खेतीमा ठूलो लगानी छ, त्यसमाथि यसपटकको खडेरीले अलैँचीखेतीलाई क्षति पुग्यो, उत्पादन घट्ला भन्ने छ, यसले अलैँचीमा निर्भर रहेका किसानलाई समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
हिमाली तथा पहाडी जिल्लाका किसानले अलैँचीलाई मुख्य आयस्रोतका रूपमा लिने गरेका छन् । केही वर्षअघि अलैँचीको मूल्य बढ्दा धेरैले खेतबारी नै मासेर अलैँचीखेती गर्दै आएका छन् । प्रतिमन (४० किलो)को मूल्य रु एक लाख बढी भएका समयमा ग्रामीण क्षेत्रका किसानले खेतबारी मासेरै अलैँचीखेती लगाएका हुन्् । हाल अलैँची प्रतिमन ३४ हजारका दरले कारोबार भइरहेको व्यवसायी बालमणि बरालले बताउनुभयो । यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारत निर्यात हुने गरेको छ ।
भारतबाहेकका तेस्रो मुलुकमा सिधैँ निर्यात नहुँदा अलैँचीको मूल्य भारतीय व्यापारीकै हातमा हुने किसान र व्यवसायी बताउँछन् । सरकारले उत्पादन र निर्यातका लागि प्रभावकारी नीति नबनाएकाले पनि आफूहरू मारमा परेको किसानले गुनासो गर्ने गरेका छन् । अर्कातर्पm नेपालमै अलैँची प्रशोधन गरेर बजारीकरण गर्ने बातावरण बन्नुपर्ने आवश्यकता भएको पनि उनीहरूको भनाइ छ । भारतमा मात्रै नभई अन्य मुलुकमा समेत बजार खोजेर सिधैँ निर्यातको बातावरण बनेमा मूल्यमा सुधार आउन सक्ने व्यवसायी बताउँछन् ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]