विराटनगर । विपन्न समुदायलाई सहज रुपले स्वास्थ्य सेवा पु¥याउन मोरङको रंगेली नगरपालिकाले त्यस्ता घर परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । एकल महिला तथा समुदायमा पछाडी परेकालाई नगरपालिकाले आफ्नै वजेटमा स्वास्थ्य विमा गर्न लागेको हो ।
रंगेली नगरपालिकामा ९ वटा वडा रहेका छन् । प्रतेक वडाका १ सय ७५ परिवारलाई विमामा लाग्ने शुल्क नगरपालिकाले व्योहोर्ने गरि विमा गर्न लागेको नगरपालिकाका उपप्रमुख भुमा पराजुलीले बताइन् ।
नगरपालिकाको परिषदको वैठकबाट निर्णय गरेर वजेट व्यवस्थापन गर्दै अहिले त्यस्ता परिवारसंग निवेदन लिने काम पालिकाले गरिरहेको छ ।
विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने कार्य सराहनिय रहेको स्थानीयको भनाई छ ।
पाँच परिवार बराबर ३५ सय रुपैयाका दरले नगरपालिकाले विमा गर्न लागेको हो । स्वास्थ्य विमा गरेपछि विमित परिवारले एक लाख वरवरको स्वस्थ्य सेवा तथा औषधी उपचार निःशुल्क पाउने व्यवस्था छ । पालिकामा रहेको रंगेली अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम संचालन हुदै आएको छ ।