कुमोद अधिकारी
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको परिसरमा निर्माण गरिएको नव निर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । कार्यालयको हात्ता भित्र आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीले शिलालेख अनवरण गर्दै भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाको कार्यमा प्रत्यक्ष असर पर्ने भन्दै नव निर्मित भवनले सेवा प्रवाहमा थप सहयोग पु¥याउने बताए ।
सुरक्षाकर्मी सुरक्षित भएमा आम नागरिकले सुरक्षाको प्रत्याभूति गर्न पाउने भन्दै उनले सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदा तत्पर रहेको बताए।
नेपाल प्रहरीले दिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरी कार्यालयमा सवारी साधन लगायत बिभिन्न प्रकारको सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रममा प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा कायम गर्नु सबैको साझा जिम्मेवारी रहेको बताउदै प्रदेश सरकारको सहयोगमा निर्माण भएको नयाँ भवनले कार्यरत प्रहरी कर्मचारीको थप मनोवल उच्च हुनुका साथै कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समय अनुसार स्त्तरीय हुदै जाने बताए ।
प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले नयाँ भवनको निर्माणले नेपाल प्रहरीलाई काम गर्न सहज भएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेखनीय योगदान पु¥याउने निर्माण कम्पनी र १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्वन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेस नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा १९ करोड १४ लाख रुपैयाको लागतमा सो भवन निर्माण भएको हो । पाँच तल्ले सो भवनमा साना ठुलागरि ७५ वटा कोठाहरु रहेका छन् ।
कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायधिश प्रदेश सरकारका मन्त्री स्थानीय जनप्रतिनिधी सुरक्षा निकायका प्रमुख तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।