मिक्स तरकारी

  • फागुन ९, २०७९ / नेपाल रेखा
alt

चोमु शेर्पा

परिचय,
पहिचान
अपरिचित सबैलाई सबैले सोधिने प्रश्न हो
तपाईंको परिचय ?
म फल्ना
फलना के ?
मैले मेरो नाम र थर बताइ नसक्दै
जवाफ आउँछ
आनि के काम गार्छ त के खान्छा
का बास्छा ?
त्यति सुने पछि थप गिज्याउदै भन्छ
तिमीले ता मोलाई डाँट्यो होला
यति पहिचान तेरो भनेर ऊ आफैंले तय गर्छ
र पेश गर्छ गर्वका साथ मलाई होच्याएर
आफू उचो भएको प्रमाण !
अनि गमक्क परेर गलल हाँसेर मज्जा लिन्छ ।
फल्याकको टुक्रामा खरानीको
धुलो राखेर कापुरी का लेखे देखि
अभ्यास गरेको हो शुद्ध नेपाली बोल्न
तर घरमा नेपाली कोहि नबोल्ने
स्कुलमा मातृभाषा बोल्न नदिने
क लाई का भन्दा ख लाई खा भन्दा
मास्टरले सिकाएको मैले
मैले बोलेको मास्टरले नबुझेर
धेरै ओटा असारेको लठ्ठी र परेङ्को सिर्कुना
शरीरमा टुक्रिए पछि बल्ल बाह्रखरी सिकेकी हुँ
बिस्तारै अक्षर चिनेसँगै कक्षा चढ्दै जाँदा
जति पटक किताबको पाठ पढेर कक्षालाई सुनाइयो
त्यति नै पटक कक्षाको हाँसो फुटेर लज्जाले शिर झुकाइयो
बोल्दा जस्तो लवजमा बोल्थें
उहीँ शब्द परीक्षामा उस्तै लेखिन्थ्यो
किताबको कुरा नपढेर नजानेर होइन
जानेरै फेल भइन्थ्यो
किनकी अक्षर लेख्दा आक्षार लेखिन्थ्यो
घर लेख्दा गार घोडा लेख्दा गोडा
जति ओटा कक्षा पास गरें सबैमा अनुमती पास
अरुकै अनुमतिमा अरुकै दबाबमा
कयौंपटक अनुमती फेल भैएको छ !
सानोमा त ठिकै थियो जसोतसो चल्यो
अलि ठुली हुँदै गएपछी लाज ,डर पलायो
अलि अलि हिम्मत पनि बिगतले सिकाए
तर कागको बथानमा बकुल्ला मिलिएन
त्यसपछी आफ्नो आवाज आफैंले सुन्न छोडियो
प्रत्येक घण्टीमा सर बर्साउनु हुन्थ्यो अनि
म थापी दिन्थें दुवै हात
हात सुनिएर कुटिएर पेलिएर सिमेन्ट भए
अनि मास्टरहरुको नियम जति जति धेरै भयो
कक्षाकाहरुले उति नै हेप्ने
बाटो छेक्ने लुकेर टाउको टाउको ढुङ्गा हान्ने
यस्तै यस्तै बिस्तारै बिस्तारै
घरदेखी स्कुल जान्छु भनेर निस्कियो
दिनभरी ओडारमा लुकेर जंगलमा बसेर
समय भएपछि घर फर्किने क्रम बढ्छ
एकजना मात्रै होइन धेरैको पढाई
यसैगरी समयमै पूर्णबिराम लागेको हो !
आफ्नो भाषा बोल्न नछाडी
लवज परिवर्तन भएन
नेपाली भाषा शुद्ध नबोली म नेपाली नै कहलाउन
मुस्किल बनाए जसका कारण मैले मेरो भाषा बिर्सिएँ
नेपाली सिक्नकालागी मातृभाषा त्यागें
अब अंग्रेजी सिक्नका लागि नेपाली भुल्दै छु
मिक्स तरकारी बनिएँ, बनाइयो, बनें
घोकायो घोकें घोक्दै छु
घोक्दा घोक्दै पनि खुट्किलो उक्लिन मुस्किल भयो !
आज म कवाडी भएकी छु
कहिं कुनै काममा पनि काम लाग्दिन
यसरी मलाई अशिक्षित बनाएर
शिक्षाको बिकास गरेको मेरो राज्यलाई
म सोध्न चाहान्छु
मेरो भाषा हरायो मेरो जात हरायो
मेरै मगजमा मेरो पहिचान हरायो
मेरै धरातलमा मेरो परिचय खोसियो
भन्नुस न मलाई खोज्न म कहाँ जाउँ ?

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]