विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकासमा युवा सहभागितालगायतका विषयमा विकल्प–एन अल्टरनेटिभमा आबद्ध युवाहरुसित छलफल गरेका छन् ।
सो अवसरमा मेयर कोइरालाले विराटनगरमा जारी सरसफाई अभियान, फुटपाथ नियन्त्रण, कर संकलन, डुबान र सुकुम्बासी समस्याका समाधानका लागि भइरहेका पहल, महानगर आफैंले बनाउन लागेका ठूला परियोजनालगायतका विषयमा जानकारी गराएका थिए । उनले युवाहरुलाई विराटनगरको विकासमा आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरे। अहिलेको समाज नकारात्मक सोचबाट ग्रसित भएको बताउँदै मेयर कोइरालाले सकारात्मक सोचका साथ देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए। युवाहरुको विदेश पलायन बढ्दै गएको बताउँदै कोइरालाले नेपालमै पनि थुप्रै अवसर रहेको चर्चा गरे । उनले युवाहरुले विश्वविद्यालयको अध्ययनसँगै सीप सिक्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, विकल्पका प्रमुख वसन्त अधिकारीलगायतले युवा सहभागिताका विषयमा आ–आफ्ना विचार राखेका थिए । कार्यक्रममा सहभागी युवाहरुले महानगरले सीपमूलक तालिम दिनुपर्ने सुझावसहित महानगरले गरिरहेका कामका बारेमा जिज्ञासा राखेका थिए ।