इटहरी । उपन्यासकार लीलबहादुर क्षत्री र सामाजिक अभियन्ता गिता गौतम सम्मानित हुने भएका छन् ।
इटहरी साहित्यिक समूहको आयोजना र धरणीधर स्मृति प्रतिष्ठानले क्षत्री र गौतमलाई फागुन ५ गते सम्मान एवम् पुरस्कृत गर्ने तयारी भएको वुधवार इटहरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष स्व. धरणीधर दाहालको ९६ औं जन्मजयन्तीको स्मृतिमा क्षत्री र गौतमलाई सम्मान एवम् पुरस्कृत गर्न लागिएको समूहका सचिव जगदिश सापकोटाले जानकारी दिए । क्षत्री साहित्यका विभिन्न विधामा कलम चलाउने व्यक्तित्व हुन् । क्षत्रीले दियालो, भानु र साहित्य अकादमी पुरस्कार साथै भारतका राष्ट्रपति रामनाथ कोविन्दको हातबाट साहित्य तथा शिक्षाको क्षेत्रमा प्रदान गरिने पद्यश्री सम्मान २०२० पाइसकेका छन् । उनी प्रवासमा बसेर नेपाली भाषा र साहित्यको उत्थानमा लागिरहेका छन् ।
गौतमले इटहरीमा निःसहाय बालबालिका सेवा आश्रम स्थापना गरी बेवारिसे बालबालिकालाई संरक्षण र पालनपोषण गरिरहेकी छन् । पत्रकार सम्मेलनमा धरणीधर स्मृति प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले मानवीय सेवामा आहोरात्र खटेर सामाजलाई ठुलो योगदान दिएकोले गौतमलाई सम्मान गर्न लागिएको बताए । साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमले इटहरीको धरणीधर स्मृति सांस्कृतिक केन्द्र (म्याट्रिक्स) मा कार्यक्रम गर्ने तयारी भएको बताए । दुवैलाई नगदसहित सम्मान गर्न लागिएको हो ।
