इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार हुँदैछ । यो निर्वाचनमा चार जनाले अध्यक्ष पदमा प्रतिष्पर्धामा गर्दैछन् ।
अध्यक्षका लागि जीवन पराजुली, रञ्जु सिग्देल र गायत्री कटवाल (भण्डारी), मणिन्द्रबहादुर कटवालबीच प्रतिष्पर्धा हुनेछ । अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुलीको समूहलाई समर्थन गरेका छन् ।
अध्यक्षका उम्मेदवार पराजुलीले २२ वर्षकै उमेरदेखि व्यवसायमा लागेका कारण र व्यवसायीको हितमा काम गर्ने अनुभव आफूमा भएको बताएका छन् ।
इटहरीदेखि दार्जीलिङ हुँदै काठमाडौँसम्म पुगेर शैक्षिक अध्ययन गरेका उनले यसअघि जेसीज, लायन्स जस्ता संस्थामा नेतृत्व गरिसकेका छन् ।
तरहरा जेसीज वर्ष २०१३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।
होटल व्यवसायी संघ इटहरीको वर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान सदस्य समेत रहेका उनी पर्यटनको क्षेत्रमा समेत काम गर्दै आएका छन् ।
पराजुलीले आफू निर्वाचित भएर आइसकेपछि पदाधिकारीमध्ये एकजना दैनिक ४ घण्टा कार्यालयमा रही व्यवसायीको समस्या बुझ्ने बताए । आँफूले २३ बुँदे प्रतिबद्वता सार्वजनिक गरेकाले सो पूरा गर्न कुनै कसर बाँकी नराख्ने पराजुलीको भनाइ छ । शुक्रबार साँझको अन्तिम चुनावी कार्यक्रममा पनि उनले यी बुँदाहरु दोहोर्याएका छन् ।