इटहरी । इटहरी उद्योग वाणिज्य संघको यही माघ २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी दिएका हालका महासचिव पिताम्बर पोखरेलले जीवन पराजुली प्यानललाई समर्थन गर्ने भएका छन् ।
जीवन पराजुली प्यानलको संकल्प पत्र सार्वजनिक कार्यक्रममा सहभागी भएर बोल्दै अध्यक्षका उमेदवार समेत रहेको पोखरेलले आफनो समेत मत जीवन पराजुलीलाई जाने बताएका हुन् ।
संकल्प पत्र सार्वजनिक कार्यक्रममा विभिन्न पार्टी तथा व्यवसायीहरुका ६ वटा संगठनको समर्थन पराजुली प्यानललाई रहेको सो अवसरमा जानकारी गराइयो । संकल्प पत्र सार्वजनिक कार्यक्रममा पराजुली प्यानलका उमेदवारहरु सहित उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष टंक दुलाल र हालका अध्यक्ष भिमबहादुर पौडेल लगायतका उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो । पराजुली प्यानलबाट यस अघि पनि निर्वाचित शोभा कोइराला, विष्णुनारायण डाँगी देखि युवा व्यवसायीहरु विनोद पौडेल, सिनेट रिजाल लगायतका उमेदवारहरु रहेका छन् ।
